काठमाडौं, बौद्ध —स्वतन्त्र वैदेशिक उद्धार श्रमिक संघको प्रथम वार्षिकोत्सव एक विशेष समारोहका बीच बौद्ध पिपलबोटस्थित बर्गर हाउस एण्ड मेलुङ थकाली किचेनमा भव्य रूपमा सम्पन्न भएको छ।
संघका अध्यक्ष दान बहादुर तामाङका अनुसार स्थापना भएको एक वर्षको अवधिमा करिब ६२० वटा उजुरीहरू संघमा दर्ता भएका छन्। तीमध्ये २०४ जना वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका नेपाली श्रमिकहरूलाई सफलतापूर्वक उद्दार गरिएको छ भने, दुर्भाग्यवश निधन भएका ४ जना श्रमिकका शवहरू स्वदेश फर्काउन संघ सफल भएको जानकारी दिइएको छ।

अध्यक्ष तामाङले बताएअनुसार, विशेषगरी मानव बेचबिखनमा परेका महिला श्रमिकहरू, शारीरिक तथा मानसिक हिंसाबाट पीडितहरू र अभिभावकविहीन अवस्थामा विदेशमा अलपत्र परेका नेपाली कामदारहरूको उद्धारमा संघको ध्यान केन्द्रित रहँदै आएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजवादी स्वतन्त्र ट्रेड युनियन महासङ्घका अध्यक्ष नवराज दाहाल तथा मानव बेचबिखन अनुसन्धान ब्युरोका डीएसपी सुधिर राई लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थित रहेको थियो।
उनीहरूले संघले छोटो समयमा नै राज्यले गर्न नसकेको काम जिम्मेवारीपूर्वक सम्पन्न गरेको भन्दै प्रशंसा गरे। कार्यक्रममा वक्ताहरूले वैदेशिक श्रमिकहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्न राज्य संयन्त्र र नागरिक समाजले अझ बलियो भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
अध्यक्ष तामाङले संघले आगामी दिनहरूमा अझ प्रभावकारी ढंगले पीडित श्रमिकको पक्षमा आवाज उठाउँदै उद्धार अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।












