काठमाडौं ।तामाङ अध्ययन प्रतिष्ठानले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा आयोजित “ज्याम्याङ गोले वार्षिक विद्वत प्रवचन” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
प्रतिष्ठानका अध्यक्ष डा. मुक्तसिंह लामाको सभापतित्व‚जापानका लागि नेपालका पूर्वराजदूत डा. गणेश योञ्जन प्रमुख अतिथि र दरहम विश्वविद्यालय युकेका प्रा. डा. बेन क्याम्बेल प्रमुख वक्ता रहेका थिए।

प्रमुख वक्ता प्रा. डा. क्याम्बेलले विगत ३५ वर्षमा तामाङ समुदायसँगको अनुसन्धानका अनुभव प्रस्तुत गरे। उनले तामाङ समुदायले भोगिरहेका समकालीन चुनौतीहरूबारे चर्चा गरेका थिए ।
उनले वातावरणीय संकट, विश्वव्यापी अर्थतन्त्रको दबाब, नगदे बालीको विस्तार, वैदेशिक रोजगारीजस्ता कारणहरूले तामाङ समुदायको परम्परागत जीवनशैली, सहयोग प्रणाली र श्रम विनियम आधारित सामाजिक संरचनामा गम्भीर असर पारेको बताए।
उनले भने, ‘परम्परागत ज्ञान र आधुनिक प्रविधिबीच सन्तुलन कायम राख्दै विकास निर्माणका काम गर्न सकेमा तामाङ समुदायको दिगो भविष्य निर्माण गर्न सकिन्छ।’
कार्यक्रममा पूर्व यूवा तथा खेलकुद मन्त्री दावा तामाङ‚ नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, लेखक तथा राजनीतिज्ञ सीताराम तामाङ, राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तान, अन्तराष्ट्रिय तामाङ परिषदका महासचिव टासी लामा, उपप्रध्यापक कुमारी लामा, भाषा आयोगका कामु सचिव डा लोकबहादुर लोप्चन, लेखक रबिन्द्र तामाङ, लेखक प्रतिक ङेसुर लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेका थिए ।
सभापति डा। लामाले दिवंगत ज्याम्याङ गोलेको योगदान स्मरण गर्दै कार्यक्रमका वक्ता डा। बेन क्याम्बेलको परिचय गराएका थिए। डा। क्याम्बेललाई प्रतिष्ठानले फेटा र मायाको चिनो डम्फु प्रदान गरी सम्मान गरेको थियो।
कार्यक्रमपछि गरिएको अन्तर्क्रियात्मक सत्रमा करिब एक दर्जन सहभागीहरूले आ–आफ्नो जिज्ञासा राखी विचार आदानप्रदान गरेका थिए।
कार्यक्रमलाई स्वागत गर्दै डा सङ्ग्रमसिंह लामाले संस्थाको उद्देश्य तथा गतिविधिको बारेमा प्रष्ट्याएका थिए । त्यस्तै तम्बा संघ नेपालले साङसेरकेम गरेको थियोभने संचालन संस्थाका सदस्य संजिला मोक्तानले गरेकी थिइन् ।












