काठमाडौँ, २३ साउन : नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ), नेपालय इन्टरनेशनल र निजी तथा आवासीय विद्यालय सङगठन नेपाल (प्याब्सन) को संयुक्त आयोजनामा राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२ आयोजना हुने भएको छ ।
विहिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२ का विषयमा जानकारी गराइएको छ । जिल्ला छनौट प्रतियोगिता आगामी भदौँ २० गते आयोजना हुने तथा प्रदेश छनौट कार्तिक १६ देखि २३ गतेसम्म सञ्चालन हुने भने केन्द्रीय प्रतियोगिताको ग्रान्ड फिनाले आगामी मङसिर ५ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिता सञ्चालन विधि, नियम, प्रश्नहरु लगायतका प्राविधिक कार्यहरु आइएसएफ एकेडेमी नेपाल मार्फत हुनेछ ।
जिल्ला स्तरीय च्याम्पियनसिपमा ७७ वटै जिल्लाका विद्यालयहरू सहभागी हुनेछन् भने त्यसमा पाँच हजार भन्दा बढी विद्यालयका १० हजार विद्यार्थीहरूको सहभागिता रहने नेपालय इन्टरनेशनलका अध्यक्ष सुवास प्रधानले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाल विद्यालय खेलकुद महासंघका बरिष्ठ उपाध्यक्ष माधव सापकोटाले राष्ट्रको सम्पत्ति भनेको भावी पुस्ता भएकाले उनीहरुका उद्देश्यलाई उजागर गर्न यस्ता खालका प्रतियोगिताले राष्ट्रका नयाँ सन्तति र सम्पत्तिको विकास हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रको सम्पत्ति भनेको भावी पुस्ता हुन, उनीहरुका बृति विकास गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक छ ।”
नेपालयका सहसंस्थापक शिशिर पछाईले एक दशकदेखि शिक्षा र खेलकुदका बिषयमा देशभर कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
प्रतियोगितामा सामुदायिक, गुठी र निजी लगायतका विद्यालयको समावेशी सहभागिता सुनिश्चित गरी देशका शहरी र ग्रामीण दुबै क्षेत्रमा पठनपाठन गर्ने विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त हुने प्याब्सनका महासचिव कटवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो प्रतियोगिताले देशभरका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धाको नयाँ उचाइमा पुर्याउने हाम्रो अठोट र विश्वास छ । यसअघि सञ्चालनमा आएका हाजिरी जवाफ भन्दा राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता नितान्त फरक शैली र संरचनाको हुनेछ ।”
उक्त प्रतियोगिताका विजेतालाई हौसला र अभिप्रेरणा प्रदान गर्न पुरस्कारको समेत व्यवस्था गरिएको जनाइएको छ । विजेता टोली महिला/पुरुषलाई दुई थान स्कुटर र आकर्षक गिफ्ट ह्याम्पर र उपविजेता टोली महिला/पुरुषलाई दुई थान ल्यापटप र गिफ्ट ह्याम्पर प्रदान गरिने जनाइएको छ ।
त्यसैगरी तेस्रो स्थान प्राप्त गर्ने महिला/पुरुषलाई दुई थान मोबाइल फोन सहित गिफ्ट ह्याम्पर र चौथो स्थान हासिल गर्ने महिला/पुरुषलाई दुई थान ट्याबलेट सहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने फाइनलमा पुगेका सबै टोलीहरूलाई प्रमाणपत्र, सम्मान–पत्र, ट्रफी र मेडल प्रदान गरिने आजको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
अन्तिम प्रतिस्पर्धामा पुग्ने प्रतिस्पर्धीहरूले छात्रवृत्तिको अवसर तथा अन्य शैक्षिक सुविधाहरू समेत प्राप्त गर्नेछन् भने उत्कृष्ट क्विज मास्टर, आयोजक जिल्ला र प्रतिभाशाली विद्यार्थीहरूलाई विशेष सम्मान गरिने र जिल्ला र प्रदेश विजेताहरूलाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरिने जनाइएको छ ।
स्कुल प्रिमियर लिग सञ्चालन गर्दै खेलकुद क्षेत्रलाई उच्च स्थानमा पुर्याउने उद्देश्यले नेपालयका अध्यक्ष सुवास प्रधान र नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । प्रतियोगिताको कूल अनुमानित खर्च रु एक करोड २४ लाख ५० हजार रहने आयोजकले जनाएको छ । —












