गाजा सिटीस्थित अल-शिफा अस्पतालको नजिकै इजरायली हवाई आक्रमणमा परी अल जजिरासँग संलग्न पाँच पत्रकारको मृत्यु भएको छ। अल जजिराले यस घटनालाई ‘प्रेस स्वतन्त्रतामाथिको योजनाबद्ध आक्रमण’ र ‘लक्षित हत्या’को संज्ञा दिएको छ।

मृतकहरूमा अनस अल-शरीफ, मोहम्मद कुरेकेह, इब्राहिम जाहेर, मोहम्मद नौफल र मोअमेन अलिवा छन्। ती सबै अस्पतालको मुख्य गेटमा पत्रकारहरूको लागि बनाइएको टेन्टमा बसेका बेला आक्रमण भएको थियो।

इजरायली रक्षा बल (IDF) ले टेलिग्राममार्फत अनस अल-शरीफमाथि आक्रमण गरेको स्वीकार गर्दै उनलाई हमाससँग सम्बद्ध एक आतंकवादी समूहको नेता भएको दाबी गरेको छ। तर, अन्य पत्रकारहरूको विषयमा भने कुनै विवरण सार्वजनिक गरिएको छैन।

अल जजिराका अनुसार, आक्रमणमा कुल सात जनाको मृत्यु भएको हो। प्रारम्भमा चार पत्रकारको मृत्यु पुष्टि भए पनि पछि यो सङ्ख्या पाँचमा पुगेको स्पष्ट भएको हो।

अल जजिराका प्रबन्ध सम्पादक मोहम्मद मोवादले बीबीसीसँग कुरा गर्दै अनस अल-शरीफलाई गाजाको अवस्थाबारे विश्व समुदायलाई सूचित गर्ने ‘एक मात्र आवाज’को रूपमा वर्णन गरे। उनले अस्पताल परिसरमा रहेका पत्रकारहरूलाई निशाना बनाइएको भन्दै इजरायलले गाजाबाट बाहिरी समाचार प्रवाहलाई रोक्न खोजेको आरोप लगाए।

२८ वर्षीय अल-शरीफले मृत्यु हुनु केही घण्टा अघि मात्र ‘एक्स’ (ट्विटर) मार्फत गाजामा भइरहेको तीव्र बमबारीबारे चेतावनी दिएका थिए। उनको निधनको खबर आएपछि ‘एक्स’मा देखिएको अर्को पोस्ट भने उनका साथीले पहिले नै तयार पारेको सामग्री रहेको पाइएको छ।

यसैबीच, IDF को विज्ञप्तिमा अल-शरीफले पत्रकारको भेषमा रहँदै इजरायली नागरिक र सैनिकविरुद्ध रकेट आक्रमणलाई प्रोत्साहन गरेको आरोप लगाइएको छ। विज्ञप्तिमा आक्रमणअघि सामान्य नागरिकको क्षति न्यून बनाउन ‘सटीक हतियार र हवाई निगरानी’ प्रयोग गरिएको दाबी गरिएको छ।

पत्रकारहरूको सुरक्षामा चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय संस्था कमिटी टू प्रोटेक्ट जर्नालिस्ट्स (CPJ) ले सन् २०२३ को अक्टोबरदेखि गाजामा इजरायली आक्रमण सुरु भएयता अहिलेसम्म १८६ पत्रकार मारिएको तथ्याङ्क सार्वजनिक गरेको छ। यो घटनाले प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षा दुबैमा गम्भीर प्रश्न खडा गरेको छ।
Al Jazeera Report

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय