ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले संस्थाको ऐतिहासिक यात्रा, नेतृत्व र गतिविधिलाई समेटेर तयार पारिएको ‘मार्गदर्शक पुस्तक’ सार्वजनिक गरेको छ ।
ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा अतिथिहरूबाट सामूहिक रूपमा पुस्तक विमोचन गरिएको हो । पुस्तकमा शाखाको स्थापना कालदेखि हालसम्मको सम्पूर्ण गतिविधि सुव्यवस्थित रूपमा अभिलेख गरिएको छ । यसमार्फत संस्थाको ऐतिहासिक यात्रालाई भावी पुस्ताले बुझ्न सक्ने उद्देश्य राखिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, वाग्मती प्रदेशसभा सदस्य उर्मिला लामा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन अधिकारीले सामूहिक रूपमा पुस्तक विमोचन गर्नुभयो ।
सोही अवसरमा, २०८१ सालको एसईई परीक्षा र २०८२ सालको कक्षा १२ उत्तीर्ण भएका महासंघ ललितपुर शाखाका सदस्यहरूका छोरा–छोरीलाई विशेष सम्मान पनि गरिएको थियो ।












