धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ईन्द्रमणी पराजुलीले आज धनकुटास्थित शहिदभूमिमा पुगेर शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ।
मन्त्री पराजुलीले शहिदभूमि गाउँपालिका–पञ्चकन्या स्थित शहिद पार्कमा पुगेर शहिदहरूको शालिकमा माल्यार्पण गर्दै श्रद्धा सुमन व्यक्त गर्नु भएको हो। त्यसपछि उहाँले शहिद परिवारसँग भेटघाट गर्दै शहिद धनवीर दर्जीका पुत्र सोम दमाईको निवासमा पुगेर सोम दमाईसँगै भोजन गर्नु भयो।

यस्तै मन्त्री पराजुलीले धनकुटा बजार स्थित शहिद भीमनारायण श्रेष्ठको शालिकमा माल्यार्पण गर्नुका साथै शहिद भीमनारायणका धर्मपत्नी लक्ष्मी श्रेष्ठ, छोरा मनोज श्रेष्ठ र छोरी ममता श्रेष्ठसँग भेटघाट गर्नु भएको थियो। साथै उहाँले मदन चोक पुगेर मदनको शालिकमा समेत माल्यार्पण गर्नु भएको छ।
मन्त्री पद सम्हालेपछि पहिलो पटक आफ्नो गृह जिल्लामा पुगेका मन्त्री पराजुलीले शहिदहरूको बलिदान र योगदानबाट प्राप्त वर्तमान व्यवस्था संरक्षण गर्नु आफ्नो दायित्व भएको बताउनु भयो। उहाँले शहिदहरूले देखेको सपना पूरा गर्न आफू निरन्तर क्रियाशील र प्रतिबद्ध रहने धारणा व्यक्त गर्नु भयो।

यसै क्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै मन्त्री पराजुलीले सुशासन प्रवर्द्धन तथा प्रभावकारी ऐन–कानुन निर्माणलाई आफ्नो कार्यकालको प्राथमिकता बनाउने बताउनु भयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाले मन्त्री पराजुलीलाई कार्यकाल सफलताको शुभकामना तथा बधाई ज्ञापन गरेको थियो। सो अवसरमा मन्त्री पराजुलीले पत्रकार महासंघ धनकुटाको भवन निर्माण तथा स्तरउन्नतिका लागि आवश्यक सहयोग र विशेष पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ।













