
काठमाडौं । सरकारले भूमिहीन सुकुम्वासीलाई लालपुर्जा उपलब्ध नहुञ्जेल अस्थायी बसोबासका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा सहायता दिने तयारी गरेको जनाएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा सरकारका तर्फबाट सहभागी मन्त्री तथा अधिकारीहरूले सुकुम्वासी व्यवस्थापनबारे हालसम्मको प्रगति प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
समिति सभापति हरि ढकालका अनुसार काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा राखिएका भूमिहीन परिवारको पहिचान र तथ्याङ्क संकलनको काम भइरहेको छ । उक्त प्रक्रिया पूरा भएपछि ती परिवारलाई छिटो प्रक्रियामार्फत लालपुर्जा वितरण गर्ने सरकारको तयारी रहेको बताइएको छ ।
सरकारी पक्षले लालपुर्जा वितरण नहुँदासम्म प्रभावित परिवारलाई घरभाडा उपलब्ध गराउने योजना बनाइएको र त्यसका लागि आवश्यक बजेट व्यवस्थापनसमेत भइसकेको जानकारी समितिलाई दिएको छ ।
बैठकमा होल्डिङ सेन्टरमा बसिरहेका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको तथा सुत्केरी महिलाको स्वास्थ्य र पोषणमा समेत ध्यान दिइएको जानकारी दिइएको थियो ।
यसैबीच, समितिले सरकारद्वारा प्रस्तुत विवरणको वास्तविक अवस्था बुझ्न सम्बन्धित क्षेत्रको स्थलगत अनुगमन गर्ने निर्णय पनि गरेको छ ।












