ललितपुर । समुदायमा स्वास्थ्य सेवाबाट वञ्चित तथा आर्थिक रूपमा विपन्न ज्येष्ठ नागरिकहरूको स्वास्थ्य संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले ललितपुरको पुल्चोकस्थित निजानन्द आश्रममा ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य प्रवर्धन सेवा कार्यक्रम सम्पन्न भएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरको आयोजनामा तथा निजानन्द आश्रमको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था परीक्षण गरी आवश्यक परामर्श तथा औषधि वितरण गरिएको थियो । कार्यक्रमको उद्देश्य ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण, रोगको प्रारम्भिक पहिचान तथा आयुर्वेदिक रसायन चिकित्सामार्फत स्वास्थ्य संरक्षण र प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूको शारीरिक परीक्षण, रक्तचाप जाँच तथा मधुमेह परीक्षण गरिएको थियो । परीक्षणका क्रममा आवश्यक देखिएका सेवाग्राहीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
कार्यक्रममा ५१ जना ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरकी कार्यालय प्रमुख डा।पुनम नेपालले जानकारी दिइन् । उनका अनुसार आयुर्वेदमा वर्णित रसायन चिकित्साले ज्येष्ठ नागरिकहरूको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले अश्वगन्धा, आमलकी चूर्णलगायतका रसायन औषधिहरू वितरण गरिएको हो ।
डा।नेपालले ज्येष्ठ नागरिकहरूलाई उमेरअनुसारको सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त आराम तथा स्वस्थ जीवनशैली अपनाउन सुझाव दिएकी थिइन् । कार्यक्रममा सहभागीहरूलाई आयुर्वेदले सुझाएका आहार–विहारका नियमहरूबारे जानकारी दिँदै स्वस्थ र गुणस्तरीय जीवनयापनका लागि जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गरिएको थियो । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्शबाट लाभान्वित भएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले नियमित रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
चिकित्सालयले दैनिक रूपमा ज्येष्ठ नागरिक सेवाग्राहीहरूलाई निःशुल्क ओपिडी टिकट उपलब्ध गराउनुका साथै आवश्यक रसायन औषधिहरू पनि निःशुल्क वितरण गर्दै आएको जनाएको छ । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था सुधार तथा स्वस्थ र सम्मानित जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले यस्ता स्वास्थ्य प्रवद्र्धन कार्यक्रमहरू आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिने चिकित्सालयले जनाएको छ ।












