धनकुटा ।धनकुटाको हिलेबजार स्थित रहेको श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले १६औँ वार्षिकोत्सव कार्यक्रम तथा नाग पञ्चमी मेला सम्पन्न गरेको छ। समितिका अध्यक्ष लालचन्द्र गोङ्वाको अध्यक्षता तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले करिब १६ वर्षअघि नाग देवता प्रकट भएपछि पण्डितद्वारा प्राणप्रतिष्ठा गरी हरेक नागपञ्चमीमा मेला तथा पूजापाठ गर्दै आएको बताउनुभयो। उहाँले मन्दिर क्षेत्रको व्यवस्थापन तथा पूर्वाधार विकासका लागि नगरपालिकाले लगानी गर्दै आएको बताउँदै धार्मिक पर्यटन प्रवर्द्धनमा यस क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
हिले बजार घुम्न आउने पर्यटकलाई थप समय यहाँ बिताउन पर्यटनलाई अड्याउन मन्दिर क्षेत्रले सहयोग पुर्याएकाे उहाँको भनाइ थियो। साथै उहाँले मन्दिर व्यवस्थापन तथा विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
वार्षिकोत्सव कार्यक्रममा हिले माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश पिठाकोटेले विद्यालयको तर्फबाट, मातृभूमि महिला समूहका सञ्चालक कृष्णा न्यौपानेले सामाजिक संघसंस्थाको तर्फबाट तथा धनकुटा नगरपालिका–१ का वडा सदस्य सुवास रानालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा विभिन्न स्थानबाट आएका भजन–कीर्तन टोलीले धार्मिक भजन प्रस्तुत गरेका थिए। भजन–कीर्तन टोलीलाई आयोजक समितिको तर्फबाट सम्मान तथा प्रोत्साहनस्वरूप पुरस्कारसमेत वितरण गरिएको थियो। यस्तै झिगु नेवा समाज हिलेले लाखे नाच प्रस्तुत गरेका थिए ।
समितिका सचिव दीपक घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।
श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने र दुःख–कष्ट हट्ने धार्मिक विश्वास रहँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय