काठमाडौँ । रसुवागढी–केरुङ सीमा क्षेत्रमा भएको प्राकृतिक विपत्तिबारे नेपालमा फैलिएका विभिन्न दाबीप्रति नेपालस्थित चिनियाँ दूतावासले आपत्ति जनाएको छ। दूतावासले चीनतर्फको ड्याम भत्किएर नेपालमा बाढी आएको तथा त्यसअघि चीनले नेपाललाई कुनै सूचना नदिएको भन्ने दाबीलाई तथ्यहीन भन्दै खण्डन गरेको हो।
दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्पष्टीकरणमा घटनालाई चीनतर्फको बाँधसँग जोडेर गरिएको प्रचारलाई ‘फेक न्यूज’को संज्ञा दिइएको छ।
दूतावासका अनुसार अगस्ट २६ को बिहान नेपालतर्फ भूकम्प वा त्यसकै प्रकृतिको शक्तिशाली हिमपहिरो तथा ग्ल्यासियर भत्किने घटना भएको थियो। त्यसबाट ठूलो परिमाणमा लेदो र पहिरो खसेपछि रसुवागढी–केरुङ सीमा क्षेत्रको दुवैतर्फ व्यापक क्षति पुगेको उसको भनाइ छ।
प्राकृतिक विपत्तिका कारण नेपाल र चीन दुवैतर्फ मानवीय क्षति भएको तथा केही मानिस अझै सम्पर्कविहीन रहेको दूतावासले जनाएको छ।
दूतावासले विपत्तिको समयमा घटनाको दोष एकअर्कामाथि थोपर्नुभन्दा उद्धार तथा राहतमा सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। उसका अनुसार अहिले प्राथमिकता आरोप–प्रत्यारोप नभई प्रभावितको उद्धार र जीवनरक्षामा केन्द्रित हुनुपर्छ।
दूतावासले आफ्नो सन्देशमा ‘आरोपले केही मद्दत गर्दैन, सहकार्यले ज्यान बचाउँछ’ भन्ने धारणा सार्वजनिक गर्दै नेपाल र चीनबीच विपद्का बेला समन्वय र सहयोग आवश्यक रहेको बताएको छ।













