ललितपुर, २ असोज : सरकारी स्वास्थ संस्थाले स्वास्थ्य सेवामा ‘पहिला उपचार, त्यसपछि भुक्तानी’ प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेकोले यसको व्यवस्थापनका गरिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।
जनस्वास्थ्य कार्यालय ललितपुरले यहाँ बिहिवारदेखि आयोजना गरेको आ.व. २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय बर्षिक समिक्षा तथा योजना तर्जुमा सम्बन्धि दुई दिने गोष्ठीमा मन्तव्य राख्नुहुँदै जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले पर्याप्त रकम नभएका कारण उपचारका क्रममा नागरिकले हैरानी व्यहोर्नुपरेको र अस्पतालबाट बाहिरिनुपरेको घटनालाई उल्लेख गर्दै आवश्यक रकम तत्काल जुटाउन नसक्दा नागरिकले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न ‘पहिला उपचार, त्यसपछि पैसाको व्यवस्था’ हुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभएको हो ।
“उपचार खर्च जुटाउन नसकेर रोग पालेर घरमै बस्न बाध्य नागरिक पनि धेरै छन्, उपचारका क्रममा घरजग्गासमेत बेचेर आर्थिक रूपमा विपन्न बनेका नागरिकको हितमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यक छ, प्रणाली बनाउने काम सरकारको हो, यस विषयमा संघीय सरकारलाई पनि आवश्यक सुझाव दिन्छौँ, प्रदेश सरकारले पनि ध्यान दिनुपर्छ।” उहाँले भन्नुभयो।
ललितपुर जिल्लाका तीनवटा गाउँपालिका भौगोलिक तथा स्वास्थ्य सेवाका दृष्टिले विकट अवस्थामा रहेको उल्लेख गर्दै उहाँले ती क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रदेश सरकारको थप सहयोग आवश्यक रहेको बताउनुभयो।
बिरामीको संख्या तुलनात्मक रूपमा कम भए पनि दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो। स्थानीय सरकारको आफ्नै आम्दानी तथा स्रोतबाट मात्र आवश्यक स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न कठिन हुने भएकाले प्रदेश सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
निजी क्षेत्रबाट लगानी गरी अस्पताल स्थापना गरेर नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका स्वास्थ्य संस्थाप्रति आभार व्यक्त गर्दै उहाँले नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध हुने गरी आवश्यक विधि, प्रक्रिया र नीतिगत व्यवस्था निर्माणमा प्रदेश तहबाट महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सहरमा केन्द्रीत ठूला अस्पतालहरूमा पनि आफ्नै प्रकारका समस्या रहेको उल्लेख गर्दै उहाँले पाटन अस्पतालमा देशका विभिन्न स्थानबाट आउने बिरामीको चाप धान्न कठिन भइरहेको बताउनुभयो।
बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सचिव डाक्टर सुमित्रा गौतमले स्वास्थ्य सेवालाई तीनै तहको प्राथमिकतामा राखिनु पर्छ र स्वास्थ्य सेवाको मूल मर्म अनुसार काम गरिनुपर्छ भन्नेमा जोड दिनुभयो। उहाँले ललितपुर महनगरपालिकालाई स्वस्थ्य नगरका रुपमा घोषणा गर्ने तयारी बागमती प्रदेशले गरिरहेको जानकारी गराउँदै बागमती प्रदेशमा स्वास्थ्यका सबै सेवाहरु पूर्ण डिजिटलाइजेशनमा गइसकेको जानकारी गराउनुभयो। उहाँले स्वास्थ्य संस्थाहरूको नियमन गर्ने कुरालाई जोड दिएका छौँ भन्दै स्वास्थ्य संस्थाको नियम संगत अनुगमनका क्रममा पनि राजनीतिक दवाव झेल्नुपर्ने अवस्था सृजना नगर्न आग्रह गर्नुभयो।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले स्वास्थ्य वीमा नगरेको व्यक्तिले पनि गम्भीर किसिमको रोग लागेको अवस्थामा पनि उपचार गर्न पाउने कल्याणकारी प्रणाली व्यवस्थापन गरिनुपर्छ भन्नेमा जोड दिनुभयो। उहाँले स्वास्थ्य सेवामा भएका प्रणाली र कानून कार्यविधिलाई सुधार गर्न सकिने ठाउँमा सुधार गरौँ भन्दै यसका लागि सबैको साथ र सहयोग चाहिने धारणा राख्नुभयो।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा जिल्लावासीलाई कसरी गुणस्तरीय स्वास्थ सेवा दिन सक्छौं भन्ने बिषयमा छलफल गर्नेछौं भन्दै छलफलमा उठेका कुराहरु आगामी वर्षको योजनामा समावेश गरेर काम गर्छौँ भन्ने प्रतिवद्धता जनाउनुभयो।—







