काठमाडौं । नेपालको मौलिक बोन धर्म, संस्कार, संस्कृति तथा ऐतिहासिक पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल भाँक्री संघले राष्ट्रिय भाँक्री सम्मेलन आयोजना गर्ने भएको छ। नेपाल भाँक्री संघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आगामी २०८३ साल पौष २९ गते राष्ट्रिय भाँक्री सम्मेलन २०८३ आयोजना हुन लागेको हो।

सम्मेलनमा देशभरका बोन धर्मावलम्बी, धामी तथा भाँक्री गुरुहरूलाई एउटै मञ्चमा एकताबद्ध गरी आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने लक्ष्य राखिएको संघले जनाएको छ।
संघका अनुसार बोन धर्मसँग सम्बन्धित धामी–भाँक्री गुरुहरूको मौलिक ज्ञान, सीप, विधि तथा परम्पराको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको छ। साथै, बोन समुदायको हकहित, सम्मान र पहिचान स्थापित गर्न पनि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

मौलिक बोन धर्म, संस्कार र संस्कृतिका सकारात्मक पक्षहरूको संरक्षण गर्दै समाजमा विद्यमान कुरीति, अन्धविश्वास, विभेद तथा विकृति–विसङ्गतिको अन्त्यका लागि सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसमेत सम्मेलनले लिएको छ।
‘बोन धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्नु तपाईँ–हाम्रो साझा कर्तव्य हो। नेपालको सम्पूर्ण बोन धर्मावलम्बीहरू एक हौँ’ भन्ने साझा संकल्पसहित सम्मेलन आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।

सम्मेलनलाई सफल बनाउन नेपाल भाँक्री संघले सम्पूर्ण बोन धर्मावलम्बी, धामी–भाँक्री गुरु, विभिन्न संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरूलाई सहयोग, सहकार्य र सहभागिताका लागि अपिल गरेको छ।
त्यसैगरी, बोन धर्म, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक सहयोग, मान्यता र संरक्षण प्रदान गर्न संघले नेपाल सरकारसँग अनुरोधसमेत गरेको छ।

नेपाल भाँक्री संघका अध्यक्ष चेत बहादुर थिङले जारी गरेको प्रेस विज्ञप्तिमा बोन धर्म तथा संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै सम्मेलनलाई ऐतिहासिक रूपमा सफल बनाउन सबै पक्षको सहभागिताका लागि आग्रह गरिएको छ। पत्रकार सम्मेलनमा झाक्री गुरु प्रकाश भुजेल , मोहनिको राजा,सिमान्त गुरु लगायत बिशेस गुरुहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय