मनहरी गाउँपालिका वडा नम्वर २ मा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । रत्नलिङ गुम्बाको आयोजनामा माघ २१ गते शुक्रबार कार्यक्रम आयोजना हुने भएको हो । तामाङ समुदायको महान चाड सोनाम ल्होछारको अवसर पारी आयोजना हुँदै गरेको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति गठन समेत गरिएको आयोजक जनाएको छ । कलाकार संयोजनको जिम्मेवारी चन्द्रबहादुर स्याङतान र हर्कमान वाइबालाई दिइएको छ भने आर्थिक संयोजकमा अर्जुन घलान, सदस्यहरुमा करण डिम्डुङ र जगत स्याङतान रहेका छन् । त्यसैगरी मञ्ज व्यवस्थापनमा अमर स्याङतान संजिब कुमार थिङ, इन्द्र स्याङतान र ज्ञानबहादुर दोङ लगायतलाई जिम्मेवारी दिइएको रत्नलिङ गुम्बाका सचिव अर्जुन घलानले जानकारी दिए ।

‘ ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ ‘नयाँ’ भन्ने हुने भएकाले ल्होछार पर्व लाई नयाँवर्षको रुपमा तामाङ समुदायले महत्वका साथ मनाउँदै आएका छन् । सोनाम ल्होछार प्रत्येक वर्ष मञ्जुश्री पात्रोको बाह्रौं महिनाको पहिलो दिनबाट सुरु हुन्छ । नेपालका तामाङ, शेर्पा र गुरुङ समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गरेका छन् ।

नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा मनाइने लोछार अर्थात नयाँ सालको गणना मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित रहेको छ । प्रत्येक बर्षको लोछारको गणना र नामाकरण १२ वटा जनावरहरुको नाम, ५ वटा धातु र २ लिङ्गबाट हुने बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय