दोलखा १९ बैशाख ।दोलखाको जिरी नगरपालिकाको ङाग्युर येशे ख्योङ्जोङ लिङ (गुरु छोके छेच्युलिङ) गुम्बाको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले गर्नु भएको छ। उदघाटन समारोहमा जिरीमा रहेको सहिद कृपाश्वरको सम्झनाको लागि जिरी माली श्यामा सडकलाई सहिद कृपाश्वर मार्गको रुपमा बिकास गर्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले जोड दिनुभयो । जनयुद्धका सहिद कृपाश्वरको भुमिमा आइपुगेकोमा खुशी व्यक्त गर्दै उक्त सडकखण्ड स्तरोन्नतिको लागि सक्दो प्रयास गर्ने उहाँले प्रतिबद्धता गर्नुभयो ।
शान्ति प्रक्रिया पछि चौथो पटक जिरी पुग्नु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सशस्त्र जनयुद्धको क्रममा सहिद भएका दोलखाका प्रथम सहिद जाङ्मु शेर्पा र याङ्डी शेर्पाको बलिदानको उच्च मुल्यांकन गर्दै यस नगरलाई बिकासमा आफुले कुनै कसर बाकी नराखी पहल गर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले जिरीको वडा नं. ३ स्थित निर्माण भइरहेको एसियाकै अग्लो गुरु रिम्पोर्छे मुर्ती र बागमती प्रदेश सरकारको बहुवर्षिय योजना अन्तरगत निर्माण हुन लागेको जिरीतालको बिषयमा चासो ब्यक्त गर्नु भयो ।
भारतीय बौद्ध धर्म गुरु स्यारपुर धम्च्यो ग्याच्छो रिन्पुछेको साढे ३ करोड सहयोगमार्फत गुम्बाको पुनः निर्माण भएको छ । त्यसैगरी स्थानीयबासीहरुको सहयोग रकम संकलन गरी बौद्धस्तुपा समेत निर्माण गरिएको छ भने गुम्बा पुननिर्माण इकाईबाट छात्रवास सम्पन्न भएको छ ।
सो कार्यक्रममा गुम्बा निर्माण तथा ब्यबस्थापन समितिले दुई जना सहयोगदातालाई सम्मान गरेको थियो । गुम्बा व्यवस्थापन समितिका अध्यक्ष नाम्छेन शेर्पा लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगा कार्की विश्व, बागमती प्रदेश सरकारका पूर्व वन तथा वातावरणमन्त्री विशाल खड्का, जिरी नगरप्रमुख मित्र बहादुर जिरेल लगायतका जनप्रतिनिधि, नेपाली कांग्रेसका केन्द्रिय सदस्य जिपछिरिङ लामा र पूर्व सांसद आङदेण्डी शेर्पा लामा लगायत राजनीतिक दलका नेताहरु, बौद्धभिक्षुहरुको सहभागीता थियो ।
सत्रौं शताब्दीमा स्थापित पुरातत्व गुम्बा दोलखाकै पुरानो गुम्बाहरु मध्ये ऐतिहासिक महत्व बोकेको एक मानिन्छ । २०७२ को विनाशकारी भुकम्पको कारण गुम्बा पुर्णरुपमा क्षति भएको थियो । भुकम्पमा परी सो गुम्बामा एक जना भिक्षु लामाको समेत मृत्यु भएको थियो ।












