प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार गठबन्धनको बैठक बोलाएर नेताहरूलाई थामथुम पार्नुभएको थियो ।
यद्यपि, सत्ता साझेदार शीर्ष नेताहरूबीच आपसी अविश्वास हटाउँदै सरकारको काम कारबाहीलाई सकारात्मक ढंगले सहयोग गर्दै जाने विषयमा छलफल र सहमति भएको नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले जुन ढंगले काम गरिरहेको छ त्यो जनताका पक्षमा छ । गठबन्धन दलहरूबीच आपसी असमझदारी भए त्यसलाई हटाएर सबैमा विश्वासको वातावरण बनाउँदै यही गठबन्धनलाई अझ बलियो बनाएर लाने भन्ने नेताहरूबीच छलफल भएको छ । अहिलेको सरकार जनताका मुद्दामा केन्द्रित छ । सुन काण्डलगायत भ्रष्टाचारमा संलग्न कोही पनि नछुट्ने गरी अनुसन्धान अघि बढेको छ । सरकार सुशासनको पक्षमा प्रतिबद्ध छ ।’
तर, सरकारको काम कारबाहीबाट सत्ता गठबन्धनकै केही नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएका छन् । सरकारले सुन काण्डलगायत भ्रष्टाचारमा आफ्ना नेताहरू बचाउने र गठबन्धनकै केही नेताहरूलाई नियतवश दुःख दिने गतिविधिमा सक्रिय भएको नेपाली कांग्रेसका नेता संस्थापनइतर समूहका नेताहरूले सार्वजनिक भाषण गरिरहेका छन् भने समाजवादी मोर्चामा विप्लवलाई भित्र्याएर नेतृत्वले आफूहरूलाई पछि पार्न खोजेको भन्दै नेकपा माओवादीभित्रसमेत असन्तुष्टि चुलिएको छ । संसदीय राजनीतिभन्दा बाहिर रहेका विप्लवलाई मोर्चामा ल्याउन पार्टी नेतृत्वले हतार गरेको नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले बताउनुभएको छ ।
माओवादी केन्द्र, एकीकृत समजावादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर असार ४ मा समाजवादी मोर्चा घोषणा गरेका नेताहरूले मोर्चाको उद्देश्यअनुसार काम गर्न नसकेको आरोप खेप्दै आएका छन् । मोर्चाको बैठकबाट चारवटै दलबाट एक/एक सदस्य रहनेगरी चार सदस्यीय कार्यदल गठन गर्दै साउन महिनाभित्रै सातै प्रदेशमा घोषणासभा राख्ने र सोही कार्यदलले समाजवादी मोर्चाको मोडालिटी, कार्यदिशा, कार्यनीति र कार्यक्रम बनाउने निर्णय गरे पनि मोर्चामा आवद्ध दलहरूबीचको असमझदारीका कारण उक्त निर्णयको कार्यान्वयन हुन नसकेको खबर आजको नेपाल समाचारपत्रमा छ ।












