काठमाडौं १४ फागुन ।मेलुङ थकाली किचेनको आज एक भव्य समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका छन्। भान्छाघरले आजदेखि नियमित रूपमा ग्राहकलाई सेवा प्रदान गर्नेछ।
मुख्यमन्त्री लामाले बागमती प्रदेशले युवा व्यवसायलाई लक्षित गरेर नयाँ योजना अघि बढाइरहेको बताए। उनले प्रदेश सरकारले कर प्रणालीलाई व्यवस्थित गर्दै डिप्लोमा गरेका युवाका लागि सीप विकास कार्यक्रम ल्याइसकेको जानकारी दिए। साथै, व्यवसाय सञ्चालन गर्न चाहने युवाहरूलाई ३% सहुलियत ब्याजदरमा बैंक ऋण उपलब्ध गराउने योजनाबारे बताए ।

थकाली खानाको प्रवर्द्धनमा युवा व्यवसायको पहल
मेलुङ थकाली किचेनका सञ्चालक बसन्त लामाले नयाँ पुस्तामा थकाली खानाको लोकप्रियता बढ्दै गइरहेको बताए। उनले बर्गर जस्तै थकाली खाना पनि ग्राहकलाई आकर्षित गर्ने क्षमता राख्ने उल्लेख गर्दै, “हामी आफैं थकाली खाना बनाउन सक्षम छौँ र ग्राहकलाई शुद्ध तथा मौलिक स्वाद चखाएर लोभ्याउनेछौँ,” भने।
उनले फ्रेन्चाइज मोडेलमा जाने सम्भावनालाई अस्वीकार गर्दै हालको टिमले मात्र शाखा विस्तार गर्ने योजना रहेको बताए। उनका अनुसार, मेलुङ थकाली किचेनले मौलिक नेपाली स्वादलाई जगेर्ना गर्दै उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
स्थानीय खाद्य संस्कृतिको प्रवर्द्धनमा योगदान
यो पहलले स्थानीय स्वादलाई प्रवर्द्धन गर्नुका साथै नेपाली युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने विश्वास गरिएको छ। मुख्यमन्त्रीको समर्थन र सरकारको सहुलियतपूर्ण ऋण नीतिले युवा व्यवसायीलाई थप प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।












