काठमाडौं । आज ग्याल्पो ल्होसार पर्व शेर्पा समुदायले विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने यो ल्होसार पर्व हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइन्छ ।
पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् । ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।












