धनकुटा – सहिदभूमि गाउँपालिका, आखिसल्लास्थित जीवन विकास लघुवित्त वित्तीय संस्थाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संस्थाले आफ्ना ८५ वटा केन्द्रका सदस्यहरूलाई वित्तीय शिक्षासम्बन्धी जानकारी दिएको छ।

कार्यक्रमका प्रमुख अतिथि सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले आर्थिक रूपान्तरणले गरिबी र आर्थिक पछौटेपन हटाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, लघुवित्तबाट लिइएको ऋणको सही सदुपयोग गर्न सकेमा आर्थिक समस्यामा नपर्ने बताउँदै, साना व्यवसाय तथा आम्दानीका स्रोतहरूमा लगानी गरी आर्थिक अनुशासन कायम राख्न सहभागी महिलाहरूलाई सुझाव दिनुभयो।

बिशिष्ट अतिथि जीवन विकास लघुवित्त वित्तीय संस्थाका जोखिम व्यवस्थापन विभाग प्रमुख शिव कुमार रामले संस्थाको वर्तमान अवस्था, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू, २७ वर्षको उपलब्धिहरू तथा ऋण लगानी प्रक्रियाबारे जानकारी गराउनुभयो। साथै, डिजिटल बैंकिङ सेवा, कर्जा लिँदा ध्यान दिनुपर्ने कुराहरू, र केन्द्र बैठक प्रक्रियाको विषयमा सहजीकरण गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा लघुवित्त विभाग प्रमुख मनोज कुमार साहले संस्थाले सञ्चालन गर्न लागेको अस्पतालबारे जानकारी दिँदै उक्त अस्पतालमा संस्थाका सदस्यहरूलाई पहिलो प्राथमिकता दिइने बताउनुभयो। साथै, लघुवित्तबाट लिएको ऋण इमानदारीपूर्वक तिर्नुपर्ने भन्दै ऋण मिनाह हुने भ्रममा नपर्न आग्रह गर्नुभयो।

कार्यक्रममा ६ जना अति विपन्न, अभिभावक नभएका बालबालिकालाई एक वर्षसम्म निःशुल्क शिक्षा तथा आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको थियो। त्यसैगरी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट एटीएम सदस्य, उत्कृष्ट ऋणी, उत्कृष्ट उद्यमी सदस्य गरी १० जनालाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। उत्कृष्ट कार्य सम्पादन गर्ने ५ वटा केन्द्रलाई पनि पुरस्कृत गरिएको थियो।

कार्यक्रममा सहिदभूमि गाउँपालिका वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष देवल राई, ठाकुर देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। हाल सहिदभूमि आखिसल्ला शाखामा १,९२१ जना सदस्य रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय