धनकुटा, चैत । सहिदभूमि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ। “पूर्ण खोप: सुरक्षित भविष्य, पूर्ण खोप सुनिश्चितता दिगोपन प्रतिबद्धता” भन्ने नाराका साथ उक्त घोषणा गरिएको हो।
खोप समन्वय समिति तथा सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले व्यानर अनावरण गर्दै प्रतिबद्धता हस्ताक्षर गरी घोषणा गर्नुभयो। पालिकालाई पूर्ण खोपयुक्त बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा अन्य सम्बन्धित सबैलाई उहाँले धन्यवाद दिनुभयो। साथै, पूर्ण खोप सुनिश्चिततापछि दिगोपना ल्याउने गरी निरन्तर काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

घोषणा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विदुर गुरागाईंले सरकारद्वारा प्रदान गरिने सम्पूर्ण खोपबाट कुनै पनि बालबालिका वञ्चित हुन नहुने बताउनुभयो। उहाँका अनुसार पालिकाले सम्पूर्ण मापदण्ड पूरा गरेपछि मात्र पूर्ण खोप पालिका घोषणा गरिएको हो।
सहिदभूमि गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा अध्यक्ष हेमकुमार राईले पालिकालाई निरोगी र स्वस्थ बनाउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वास्थ्य शाखा प्रमुख फकिर महोमतका अनुसार पालिकाभरि ०-५९ महिनाका ७२५ जना बालबालिकाले खोप प्राप्त गरिसकेका छन् भने हाल ०-१५ महिनाका २६५ जना बालबालिका छन्। पालिकालाई पूर्ण खोप पालिका घोषणा गर्नु अघि घरधुरी सर्वेक्षण गरी प्रत्येक घरमा स्वास्थ्यकर्मी पुगेको जानकारी उहाँले दिनुभयो ।
पूर्ण खोप अभियानमा उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मी पारस राईलाई दोसल्ला, प्रशंसा पत्र र अविरले सम्मान गरिएको थियो। त्यस्तै, १० जना स्वास्थ्यचौकी इन्चार्ज र ८ जना खोपकर्तालाई प्रशंसा पत्र तथा झोला वितरण गरिएको छ।
घोषणा कार्यक्रममा वडा अध्यक्ष खगेन्द्र राई, कार्यपालिका सदस्य केन्द्र बहादुर राई, वडा अध्यक्ष भीम बहादुर राई, दिवानी राई लगायत स्वास्थ्यकर्मी, स्वयंसेविका तथा कर्मचारीहरूको उपस्थित थियो ।













