
काठमाडौं, – काठमाडौंमा बढ्दो अशान्ति र हिंसात्मक घटनाका कारण सुरक्षास्थिति थप कडा पारिएको छ। जडिबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनी भएको छ भने धेरै सवारीसाधन क्षतिग्रस्त भएका छन्।
यसैबीच, राजावादी आन्दोलनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट तथा तोडफोड गरेको खबर आएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू परिचालन गरिए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
तीनकुने क्षेत्रमा सेना परिचालन
काठमाडौंको तीनकुने क्षेत्रमा स्थिति नियन्त्रण गर्न नेपाली सेना परिचालन गरिएको छ। सेनाको बख्तरबन्दसहितको टोलीले सुरक्षा निगरानी गरिरहेको छ।
स्थिति नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शुक्रबार अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
सुरक्षाका लागि स्थानीय बासिन्दालाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरिएको छ।
















