
काठमाडौं । सरकारले हिंसात्मक आन्दोलन भड्काएको आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा-सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालेको छ। शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनपछि सरकार छानबिन गरेर कडा कदम चाल्ने निष्कर्षमा पुगेको हो।
गृहमन्त्रालयका एक उच्च अधिकारीका अनुसार, आन्दोलन पूर्वराजाको निर्देशनमा भएको निष्कर्ष निकालेपछि उनीमाथि थप अनुसन्धान भइरहेको छ। “विदेश पलायन हुने सम्भावनालाई ध्यानमा राख्दै राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाइएको छ,” ती अधिकारीले बताए।
शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले हिंसात्मक घटनामा संलग्नहरूमाथि कडा कारबाही गर्न, ज्ञानेन्द्रलाई देश छोड्न रोक लगाउन र उनले पाउँदै आएको सुविधा खारेज गर्न प्रस्ताव गरेका थिए। सरकारले चाँडै नै निर्णय कार्यान्वयन गर्ने तयारी गरिरहेको छ।
शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन थालिसकेको छ। व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, र संगठित अपराधको आरोपमा गहिरो अनुसन्धान गरिने प्रहरीले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनप्रति आपत्ति नरहे पनि तोडफोड, हिंसात्मक झडप र दुई जनाको मृत्यु जस्ता घटनामा संलग्नहरूमाथि कठोर कारबाही गर्न निर्देशन दिएका छन्।
राजावादी प्रदर्शनमा हिंसा: दुईको मृत्यु, दर्जनौं घाइते, अर्बौंको क्षति
पूर्वराजा ज्ञानेन्द्रलाई तेस्रो पटक सिंहासनमा फर्काउने अभियानसहित भएको प्रदर्शन नियन्त्रणबाहिर गएपछि ठूलो क्षति भएको छ। सरकारले तोकेको प्रदर्शनस्थल तीनकुनेमै अराजक गतिविधि फैलिएपछि एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ। भिड नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित धेरै घाइते भएका छन् भने अर्बौंको निजी सम्पत्ति नष्ट भएको छ।
प्रदर्शनको क्रममा सञ्चारकर्मी सुरेश रजक आगलागीमा परी ज्यान गुमाएका छन् भने सविन महर्जनलाई गोली लागेर मृत्यु भएको छ। आन्दोलनका प्रमुख अभियुक्त दुर्गा प्रसाईंले सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमण गरेका थिए। भिड उत्तेजित भएसँगै तोडफोड, आगजनी, लुटपाट लगायतका घटनाहरू भएको प्रहरीले जनाएको छ।
राजावादी प्रदर्शनकारीहरूले जडीबुटी उत्पादन तथा प्रसोधन कम्पनीका आठ गाडी जलाएका छन्। ट्राफिक बिट भत्काइएको छ। पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयमा मोटरसाइकल तोडफोड भएको छ भने नेकपा एकीकृत समाजवादीको मुख्यालयमा आगजनी गरिएको छ।
यसैगरी, कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटभित्र पसेर प्रदर्शनकारीहरूले लुटपाट र तोडफोड गरेका थिए। भिड हिंसात्मक बनेपछि आन्दोलनका प्रमुख योजनाकारहरू भागेको र त्यसपछि अराजक समूहले निजी घरहरूमा समेत आगजनी गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
सरकारले यी घटनालाई गम्भीर रूपमा लिँदै हिंसात्मक गतिविधिमा संलग्नहरूमाथि कडा कानुनी कारबाही गर्ने तयारी गरिरहेको छ।












