ललितपुर/ २१,चैत, यही चैत २२ र २३ गते ललितपुरको कुमारीपाटीमा दुई दिने सडक महोत्सव हुने भएको छ ।
कुमारीपाटी जावलाखेल विकास संस्थाले सोमबार पत्रकार सम्मेलन गरि दिइएको जानकारी अनुसार ललितपुर कुमारीपाटीको इटीटोलदेखि जावलाखेलसम्म एक किलोमिटर सडकमा शुक्रबार र शनिबार महोत्सव सञ्चालन हुने संस्थाका अध्यक्ष विरेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो ।
“ललितपुरको ईटी चोकदेखि कुमारीपाटी, तफाल्हो हुँदै जावलाखेलसम्म करिब एक किलोमिटर क्षेत्रमा हुने यस यस महोत्सवमा विविध सांस्कृतिक, साँगितिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ,  ललितपुरको ऐतिहासिक तथा पुरातात्विक सम्पदालाई उजागर गर्दै आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने यस महोत्सवको लक्ष्य रहेको छ।” उहाँले भन्नुभयो ।
महोत्सवमामा ऐतिहासिक झाँकी तथा सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक प्रस्तुतिहरू, नेपालका विभिन्न जातजातिको सांस्कृतिक नृत्य, फेशन शो, फेस पेन्टिङ, ट्याटु, फूड स्टल तथा हस्तकला लाइभ शो प्रस्तुति हुने अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।
महोत्सवमा ८१ वटा क्यानोपी स्टल, ३० वटा फूड स्टल, २९ वडा स्टल तथा ४ वटा हेल्प डेस्कको व्यवस्था हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
महोत्सवको व्यवस्थापन तथा समन्वयका लागि कुमारीपाटी-जावलाखेल विकास संस्थाको अध्यक्षतामा ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको कार्यक्रम संयोजक बिरेन्द्र शाक्यले जानकारी गराउनुभयो। उहाँका अनुसास महोत्सवलाई थप व्यवस्थित बनाउन व्यवस्थापन, आर्थिक, प्रचार-प्रसार, स्टल व्यवस्थापन, स्वास्थ्य, स्वयंसेवक, सरसफाइ, तथा सुरक्षा उपसमितिहरू गठन गरिएका छन्।
महोत्सवको उद्घाटन चैत २२ गते शुक्रबार दिउँसो २ बजे बागमती प्रदेशका म मुख्यमन्त्री श्री बहादुर सिंह लामाद्वारा गरिने जानकारी दिइएको छ।
उपत्यकामा हुने अन्य महोत्सवहरूमध्ये उत्कृष्ट बनाउन लक्ष्यसहित आयोजना गरिन लागेको यस महोत्सवमा करिब ५ लाख आगन्तुकहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
जावलाखेल र कुमारीपाटीको व्यवसाय बढाउने र ललितपुरको अर्थतन्त्रलाई गतिशील बनाउने अभिप्रायले महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक बिरेन्द्र शाक्यले जानकारी गराउनुभयो।
उद्योग बाणिज्य संघ ललितपुरका बरिष्ठ उपाध्यक्ष सुसन महर्जनले उद्योगी व्यवसायीहरुलाई परेको समस्या समाधानमा संघ लागि पर्ने बताउँदै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन हुन लागेको यो महोत्सव अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले उद्योग बाणिज्य संघले स्थानीयस्तरमा हुने मेला तथा महोत्सवलाई सहयोग र समन्वय गर्ने बताउनुभयो।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय