ललितपुर, २९ चैत । नेकपा माओवादीका उपाध्यक्ष एवम् पूर्वमन्त्री पम्फा भुसालले नेपालबाट खुसीले विदेश जाने र विदेशमा पुगेपछि नेपाललाई नै धारेहात लगाउने पद्धति हट्नुपर्छ भन्नेमा जोड दिनुभएको छ।
नेपाल पत्रकार महासंघ ललितपुरद्वारा बिहिबार यहाँ आयोजित सकरात्मक सोच सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै पूर्वमन्त्री भुसालले हर सन्दर्भ र आन्दोलनमा पत्रकार महासंघ र मिडियाले अद्वितीय भूमिका खेलेको भन्दै नेपालीहरुमा विदेश जाने सोचका साथ अध्ययन गराउने र युवा शक्तिलाई विदेश पठाएर नेपालमा केही पनि भएन भन्ने भनाईलाई अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो।
“विदेशका सपना देखेर अध्ययन गर्ने र गराउने पद्धति हट्नुपर्छ, विदेशमा जाने बित्तिकै डलर फल्ने हैन, ४०/५० लाख खर्च गरेर परिवारमाथि ऋणको भार थपेर जानुपर्ने आवश्यकता छैन, हाम्रै देशमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने विद्यालय र विश्वविद्यालय छ, खुसीले विदेश जाने र विदेशमा पुगेपछि नेपाललाई नै धारेहात लगाउने पद्धति हट्नुपर्छ, विदेश जाने संस्कारले राष्ट्रलाई फाइदा गर्दैन।” उहाँले भन्नुभयो ।
पूर्वमन्त्री भुसालले प्रशासनले काम नगर्दा राजनीतिले दोष पाउने अवस्था छ भन्दै यसलाई सुधार्ने माध्यम भनेको मिडिया नै हो भन्नेमा जोड दिनुभयो ।
“बिचार सृजना गर्ने माध्यम मिडिया हो, यसप्रति काम गर्न मेरो आग्रह र अनुरोध छ, सामाजिक सञ्जाल र नयाँ प्रविधिका कारण पत्रकारिता समस्यामा छ, सामाजिक सञ्जालको अनुत्तरदायी भूमिकाले नकारात्मकता प्रवर्द्धन गरीरहेको छ, स्वच्छ, तथ्यगत, बस्तुगत समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने छ।” उहाँले भन्नुभयो ।
उहाँले नेपालको परिवर्तनमा मिडियाले खेलेको भूमिका महत्त्वपूर्ण छ भन्दै पत्रकारहरु र मिडियाले आलोचनासंगसंगै सकरात्मक सन्देश प्रवाहमा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो।
“आलोचनात्मक समाचार दिने कुरा सही हो, तर नकारात्मकतालाई प्रोत्साहन गर्ने कुरा चाहिँ नराम्रो हो,
मिडिया आलोचनात्मक हुनुपर्छ, तर नकारात्मक प्रवर्द्धन गर्ने चाहिँ हुनुहुँदैन, मानिसले बिहानको समाचार सुनेर धारणा बनाउँछन्, त्यसकारण मिडियाले पहिला सकरात्मक धारणा बनाउने गरी समाचार सम्प्रेषण गर्नुपर्छ, आलोचनात्मक हुनुपर्छ, नकारात्मक कुराको पनि व्याख्या गर्नुस्, तर नकारात्मक कुरालाई चिरेर सकरात्मक धारणा बनाउने आधार पनि तयार गर्ने गरी समाचार र विश्लेषण प्रस्तुत गर्नुस् ।” उहाँले भन्नुभयो ।
उहाँले नेपालमा केही पनि भएन भन्ने भनाई गलत भएको भन्दै नेपालमा मातृ मृत्युुदर, वालमृत्युदर घटेको, भौतिक पूर्वाधारको पनि विकास भएकोले यसलाई पनि स्वीकार गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो।
वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जनले समाजमा सकरात्मक कुरालाई प्रोत्साहन गर्दै भएको राम्रो कुरालाई जनतासामू प्रभाव पार्नु अहिलेको आवश्यकता रहेको बताउँदै कार्यक्रमहरु तय गर्दा युवा तथा महिलाहरूलाई बढि जोड दिएका छौँ भन्नुभयो । उहाँले पत्रकारिता क्षेत्रबाट सकरात्मक कुराहरुको समाजमा प्रचारप्रसार गर्दै सम्भावनाको खोजीलाई जोड दिने गरी लेखेर योगदान दिनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष रामहरि कार्कीले किताबी ज्ञान भन्दा जीवनको भोगाइ र अनुभवबाट सीप आर्जन गर्नुपर्ने धारणा राख्दै कुनै पनि उद्देश्यअनुसार काम गर्दा सकारात्मक सोच राख्नुपर्ने बताउनुभयो । उहाँले पद र अधिकारको सदुपयोग गर्दै समय व्यस्थापनमा बिशेष जोड दिनुपर्ने धारणा राख्नुभयो। कार्कीले संकीर्ण सोचको अन्त्य गरी पत्रकारहरुले आफ्नो जीवनमा सधैँ सकारात्मक सोचकासाथ काम गर्नुपर्ने बताउनुभयो ।—












