सिन्धुपाल्चोक, बैशाख २७ — सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका–१, निङ्गाले बागखोरस्थित मुडे–मेलुङ सडक खण्डमा यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

मोटरसाइकल चालक दोलखा मेलुङ गाउँपालिका–३ निवासी २३ वर्षीय सुरेश रसाइलीलाई तत्कालै उपचारका लागि खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पुर्याइएको थियो। तर, उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनामा संलग्न बस चालक दोलखा कालिञ्चोक गाउँपालिका–६ निवासी २३ वर्षीय माधवबहादुर कार्कीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












