धनकुटा, असारधनकुटाको सहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड ७० लाख ५२ हजार ६ सय १३ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ। मंगलबार गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनको दोस्रो बैठकमार्फत उपाध्यक्ष रत्नश्वरी राईले सो बजेट सार्वजनिक गरेकी हुन्।

उपाध्यक्ष राईका अनुसार बजेट स्रोतको रूपमा संघीय सरकारबाट समानीकरण अनुदान अन्तर्गत ८ करोड २५ लाख, सशर्त अनुदान २ करोड २३ लाख ३० हजार, समपूरक अनुदान ८ करोड ४ लाख, तथा विशेष अनुदान २३ करोड रहने अनुमान गरिएको छ।

त्यस्तै प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणमार्फत ७५ लाख ५ हजार समानीकरण अनुदान, ३९ लाख २६ हजार सशर्त अनुदान तथा १ करोड ४ लाख समपूरक अनुदान प्राप्त हुने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको असार ९ गतेसम्म गाउँपालिकाले २४ करोड ९१ लाख ९५ हजार ५ सय ११ रुपैयाँ चालू खर्च र ७ करोड ३३ लाख ६१ हजार ७ सय ६८ रुपैयाँ पूँजीगत खर्च गरी जम्मा ३२ करोड २५ लाख ५७ हजार २ सय ७९ रुपैयाँ खर्च गरेको छ। यस अनुसार चालू खर्च ७४.५१ प्रतिशत र पूँजीगत खर्च ४७.१३ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाएको छ।

गाउँपालिकाले आगामी वर्षका लागि कृषि, सहकारी, पशुपालन, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा लगानीमार्फत आर्थिक विकास गर्ने लक्ष्य लिएको छ। साथै, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, सम्मानित श्रम तथा रोजगारीका माध्यमबाट समृद्ध सहिदभूमि निर्माण गर्ने योजना बजेटमार्फत प्रस्तुत गरिएको छ।

त्यस्तै, सीमान्त र वञ्चित समुदायका लिङ्ग, भाषा र संस्कृतिको संरक्षण गर्दै समतामूलक समाज निर्माण गर्ने, सबै वडा कार्यालयसम्म १२ महिना यातायात सञ्चालन हुने सडक सञ्जालको व्यवस्था गर्ने, सबै टोल र बस्तीमा स्वच्छ खानेपानी पुर्‍याउने तथा स्थानीय स्रोतमा आधारित घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्दै उद्यमशीलता विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय