धनकुटा ।सहिदभूमि गाउँपालिका वडा नं ६ सुकेआहालस्थित स्थानीय बिहानी युवा क्लबको अगुवाइमा सडक सरसफाइ तथा संरक्षण अभियान सञ्चालन भइरहेको छ। क्लबले “हाम्रो बाटो, हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित एक्ले वरदेखि मार्घसम्मको करिब ५ किलोमिटर लामो सडक खण्ड सरसफाइ र संरक्षणका लागि श्रमदानमार्फत कार्य गर्दै आएको हो।
शुक्रबार दशौँ दिन पुगेको अभियान अन्तर्गत आज गाउँपालिकाको मुख्य गेटसम्मको सडक सरसफाइ कार्य सम्पन्न भएको छ। बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने अभियानमा क्लबका पदाधिकारी, वडा नम्बर ६ का वडा अध्यक्ष हेमकुमार राई, गाउँपालिका अध्यक्ष मनोज राई, तथा स्थानिय समाजसेवी केशव राईको सक्रिय सहभागिता रहेको छ। समाजसेवी राईका अनुसार दैनिकजसो ५० जना भन्दा बढी स्थानीय नागरिक स्वस्फूर्त श्रमदानमा जुटिरहेका छन्।

गत वर्षको बाढी र अविरल वर्षाले सडकमा थुप्रिएको माटो, ढल पुरिएका स्थान र झाडीले ढाकिएको सडक किनार सरसफाइ गरिँदैछ। स्थानीयले सडक संरक्षणमा सरकारको मात्र भर नपरी समुदाय आफैँ सक्रिय हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
यसैक्रममा, ठाकुरदेवी माध्यमिक विद्यालयका शिक्षिका मनकुमारी राईले श्रमदानमा संलग्न स्वयंसेवकहरूलाई ५० थान टि–सर्ट वितरण गरिन्। उनका अनुसार युवाहरूको सक्रियता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता उच्चस्तरमा देखिएको छ।
सडकमा झरेको ढिस्को, जंगल हटाउने कार्यका साथै वरिपरिका साना बिरुवा र झारपात समेत फालिने क्रम जारी छ। सहभागीहरूले सडकको संरक्षण स्थानीयको दायित्व भएकाले यस्तो अभियान निरन्तर चलिरहनुपर्ने बताएका छन्।












