परापुर्व देखिको सान मेरो ,
नारायणस्थान स्वच्छ वन मेरो ।
रोशी र कोशी नदीको छ घेरो,
साह्रै रमाइलो तेमाल सेरोफेरो ।
उत्तरमा हेर्दा गौरीशंकर हिमाल,
आहा क्या राम्रो ठाउँ मेरो तेमाल ।।
तेमाल जाँउ सबले भन्छन,
यहाँ आएर सब दंग पर्छन् ।
लाग्छ यो प्रकृतिको फल हो ,
विशेष ऐतिहासिक स्थल हो ।
उत्तरमा देखिने गणेश हिमाल,
स्वर्ग जस्तै सुन्दर मेरो तेमाल ।
उहिले हृन्जेन दोर्जे तामाङ राजा,
अहिले हाम्रो माझमा छैन आज ।
इतिहासको प्रतीक कोट दरबार,
तेमालको मुटु नारायणस्थान बजार ।
उत्तरमा देखिने आमा याङरी हिमाल,
स्वच्छ सुन्दर र हराभरा मेरो तेमाल ।
गुरु रेम्पोर्छे तपस्या स्थल ग्योलोङ भिर,
भगवानहरुको बास छ,छैन मनमा पिर ।
ईतिहास रचेको छ भगवानको पालाको,
नेपालभरी चर्चा छ बुद्धचित्त मालाको ।
उत्तरमा देखीने लाङटाङ ल्होत्से हिमाल,
ईतिहास रचेको सुन्दर ठाउँ मेरो तेमाल ।
वर्तमान अवस्थामा सबै लामा पढ्दैछन,
दिन प्रतिदिन पर्यटकको आगमन बढ्दैछन ।
नारायणस्थान पोखरीमा थियो रे यारीनाग,
संगै बस्थ्यो रे दैत्य मानव हुन्थ्यो रे भागाभाग ।
उत्तरमा देखिने लाङटाङ मनास्लु हिमाल ,
आहा क्या राम्रो ठाउँ सुन्दर मेरो तेमाल ।
पहिले बाह्र वटा मात्र तेमाल थियो रे ,
खस राज्यले राजाको ज्यान लियो रे ।
अहिले सिङ्गो तेमाल नै विकसित हुँदै छ,
पर्यटकको आगमनले सिङ्गो तेमाल छुँदै छ ।
उत्तरमा देखिने दोर्ज लाक्पा बौद्ध हिमाल,
बौद्ध,स्वयम्भू ,नमोबुद्ध रहेको मेरो तेमाल ।।।।।।
लेखक : धनराज लामा ( विवश दोङ अनुभवी )