काठमाडौं

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महीना अर्थात् पुस मसान्तसम्म आइपुग्दा उद्योग दर्ता र लगानी प्रस्ताव गतवर्षभन्दा बढेको देखिएको छ ।

गत आव २०७७/७८ को तुलनामा स्वदेशी र विदेशी लगानीको प्रस्ताव ६० दशमलव ९५ प्रतिशतले बढेको छ ।

उद्योग विभागको तथ्यांकअनुसार पुस मसान्तसम्ममा साना, मझौला र ठूला उद्योग गरी कुल १५४ ओटा उद्योग दर्ता भएका छन् । यी उद्योगको कुल प्रस्तावित लगानी रू. १ खर्ब ८६ अर्ब रहेको छ । यो लगानी र उद्योग दर्तामा स्वदेशी र विदेशी दुवैखाले पर्छन् । यही अवधिमा गतवर्ष भने कुल उद्योग दर्ता संख्या १०३ र कुल लगानी प्रस्ताव रू. ७२ अर्ब ६२ करोड थियो ।

विभागका अनुसार चालू आवको दोस्रो चौमाससम्ममा विदेशी लगानीका १२९ ओटा उद्योग दर्ता भएका छन् । यी उद्योगको कुल प्रस्तावित लगानी भने रू. ३० अर्ब ५६ करोड छ । गतवर्ष यही अवधिमा यस्ता उद्योगको दर्ता संख्या १२३ थियो भने लगानी प्रस्ताव रू. २३ अर्ब ४७ करोड थियो ।

विदेशी लगानीकर्ता ठूला उद्योगभन्दा पनि साना उद्योग दर्ता र लगानीमा बढी केन्द्रित देखिएको विभागको तथ्यांकले देखाउँछ ।

चालू आवको यो अवधिमा जम्मा दुईओटा ठूला उद्योग दर्ता भएका छन् भने गतवर्ष पनि दुईओटा नै ठूला उद्योगको प्रस्ताव आएको थियो । तर, तुलनात्मक रूपमा साना उद्योगमा विदेशी लगानीकर्ताले लगानी प्रस्ताव र दर्तामा भने उल्लेख्य चासो रहेको देखिन्छ । चालू आवको यो अवधिमा वैदेशिक लगानीका उद्योग दर्तामध्ये ९० ओटा उद्योग साना उद्योगमा दर्ता छन् भने गतवर्ष यस्ता उद्योग दर्ताको संख्या ११९ थियो ।

यो वर्ष मझौला उद्योग दर्तामा भने गतवर्षभन्दा सुधार देखिएको छ । यो वर्ष विदेशी लगानीका ३७ ओटा मझौला उद्योग दर्ता भएका छन् भने गतवर्ष जम्मा दुईओटा मझौला उद्योग दर्ता भएका थिए । वैदेशिक लगानी स्वीकृत गरी कार्यान्वयनमा आउँदा ८ हजार १४६ जनाले रोजगारी पाउनेछन् । कुल स्वदेशी र विदेशी लगानीका उद्योग सञ्चालनमा आउँदा भने कुल १३ हजार ७४८ ले रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय