असोज ३
। देशभर आज सोमबार ८ औं संविधान दिवसका अवसरमा विविध कार्यक्रम गरी मनाइँदैछ ।

२०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा सोमबार देशभर यो दिवस मनाइएको हो । उक्त संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरेको थियो । नयाँ संविधान अनुसार मुलुकमा दुई वटा स्थानीय निर्वाचन सम्पन्न भईसकेका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाले पहिलो कार्यकाल पूरा गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचन हुने तयारी सुरु भईसकेको छ। यस बीचमा संविधानका केही बुँदाहरु संशोधन गरिएको छ । तर नागरिकता विधेयकलगायत केही मुलभूत विषयहरुमा भने दलहरुबीच सहमति नहुँदा अन्योलको अवस्थामा पनि रहेको छ । संविधान कार्यान्वयनका क्रममा आइपरेका अप्ठेराहरु सर्वोच्च अदालतमा पुग्दा शासनमा पनि न्यायालय हावी हुँदै गएको अनुभूति गरिएको छ ।

पहिलो नयाँ संविधान अनुसार गठन भएको पहिलो प्रतिनिधिसभा दुई पटक भङ्ग हुनु र त्यसको पुनस्स्थापनाका क्रममा सर्वोच्च अदालतले देखाएको सक्रियताले न्यायिक प्रभाव बढाएको छ । त्यसमाथि प्रतिनिधिसभाको अन्तिम दिनसम्मै सभाको कार्यकाल कहिलेसम्म भन्ने अन्योल पनि देखियो । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग प्रस्ताव अलपत्र परेपछि उत्पन्न अन्योलले संविधान नै त्रुटीपूर्ण त होइन भन्ने आशंका पनि जन्माएको छ ।

अर्कोतर्फ संविधानसभाबाट संविधान बनेपछि मुलुकमा शासकीय सुशासन, समृद्धि र अमनचयन कायम हुने जुन अपेक्षा गरिएको थियो त्यो पूरा नहुँदा जनसाधारणमा भने निराशा उत्पन्न भएको छ । यसैबीच, संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ कैदीबन्दीको बाँकी सजाय माफ गरिदिनुभएको छ भने सरकारले सोमबार देशभर सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय