ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. १० लाँकुरी भञ्ज्याङस्थित वन जथाभावी रूपमा रुख कटान र डोजर चलाएको पाइएको छ ।
वनको संरक्षण गर्नुपर्ने निकाय माथिल्लो पात्ले सामुदायिक वन उपभोक्ता समितिले नै अनधिकृत रूपमा रुख कटान र डोजर चलाएको हो । जथाभावी रुख कटान तथा डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएको छ ।
पात्ले सामुदायिक वनमा विनास्वीकृत रुख कटान भइरहेको गुनासो तथा उजुरीपछि डिभिजन वन कार्यालय ललितपुरले अनुगमन गर्ने भएको छ । समितिले एकसाता अघिदेखि सल्ला, उत्तीस र चिलाउनेका ५ दर्जनभन्दा बढी रुख काटेको उजुरीमा उल्लेख छ ।
स्थानीयवासीले रुख काटिएको बारे वन तथा भू–संरक्षण विभाग तथा डिभिजन वन कार्यालयमा गुनासो तथा उजुरी गरेका छन् ।
विभागले वन ऐन, २०७६ तथा वन नियमावली, २०७९ र प्रादेशिक वन ऐन तथा नियमावली अनुसार कानूनी कारवाहीको लागि डिभजन वन कार्यालय ललितपुरलाई २०८० असारमा पत्रचार गरेको थियो । तर हालसम्म पनि वन कार्यालयले कारवाहीको प्रकृया अघि नबढाएको भन्दै स्थानीयवासी वन कार्यालयको समेत संलग्न रहेको आशंका गरेका छन् ।
माथिल्लो पातले सामुदायिक वनको फडानी रोक्का गरी यसमा संलग्न जोकोहीलाई कानून बमोजिम हदैसम्मको कारवाहीको गरी पाउँ भन्ने व्यहोराको उजुरी परेको वन तथा भू–संरक्षण विभागका वन अधिकृत गोविन्द कुमार श्रेष्ठले बताए ।
यसैबीच आइतबार डिभिजन वन कार्यालय ललितपुरले रुख कटानबारे समितिलाई पत्रचार गर्दै स्पष्टीकरण सोधेको छ । डिभिजन वन कार्यालय ललितपुरका वन अधिकृत सन्तकुमार श्रेष्ठले रुख कटान गरेको गुनासो आएपछि पत्राचार गरिएको र अब निरीक्षण पनि गरिने जानकारी दिए । तर समितिका अध्यक्ष वीरमान तामाङले रुख कटान नगरिएको दाबी गरे । वडा नं. १० का वडा अध्यक्ष विजय लामाले राजनीतिक आग्रह पूर्वाग्रह गरेर उजुरी दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय