काठमाडौं । राष्ट्रिय योजना आयोगले कोशी प्रदेश सरकारसँग १६ औँ योजनाका लागि सुझाव लिएको छ । बिहीबार कोशी प्रदेशको विराटनगरमा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरू र प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूलगायत सहभागी भए ।
राष्ट्रिय योजना आयोगको टोली आउने भएपछि कोशी प्रदेश सरकारले बुधबारमात्रै प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्ज्न आचार्यलाई नियुक्त गरेको थियो । बिहीबारको छलफलमा मुख्यमन्त्री, मन्त्रीहरूसँगै उपाध्यक्ष आचार्य पनि सहभागी भए ।
आयोगलाई मुख्यमन्त्री कार्कीले संघीयताको मर्म बुझेर योजना बनाउनु पर्ने बताएका छन् । उनले मुलुकको समृद्धिका लागि दीर्घकालिन असर पर्ने गरी योजना बनाउन समेत सुझाएका छन् ।
प्रदेश तथा स्थानीय तहसँग सुझाव लिन आयोगले छुट्टाछुट्टै टोली परिचालन गरेको छ । कोशी प्रदेश सरकार र कोशी प्रदेशमा रहेका स्थानीय तहहरूबाट सुझाव लिन आयोगले सदस्य डा. आरपी विच्छा नेतृत्वको टोली विराटनगर पठाएको छ ।
आयोग सदस्य डा. विच्छाले संघीयताको मर्म अनुसार योजना बनाउनकै लागि आफूहरु तलसम्म आएको बताए । माथिबाटै योजना बनाएर कार्यान्वयनका लागि तल पठाउने नभइ स्थानीय तह र प्रदेशका सुझावहरु समेटेर मात्रै योजना बनाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय