कात्तिक ११, कम्बोडिया। इरान युद्धका कारण इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले विश्व भ्रमणमा निस्केको अमेरिकी विलासी आवासीय पानीजहाज ‘भिल्ला भि ओडिसी’को यात्रा रोकिएको छ। कम्बोडियाको सिहानुकभिल बन्दरगाहमा रोकिएको जहाजका २०३ यात्रु अहिले आफ्नो भविष्य र यात्राको निरन्तरताबारे अन्योलमा परेका छन्।

जहाज सञ्चालन गर्ने फ्लोरिडास्थित कम्पनी भिल्ला भि रेसिडेन्सेसले मंगलबारदेखि सेवा स्थगित गरेको घोषणा गरेको हो। कम्पनीले यात्रुहरूका लागि अस्थायी बसोबास तथा सुरक्षित रूपमा जहाजबाट बाहिरिने व्यवस्था मिलाइरहेको जनाएको छ। साथै, आगामी ६० दिनभित्र आर्थिक पुनर्संरचना र थप पुँजी जुटाउने विकल्पमा काम गर्ने योजना बनाएको छ।

तर जहाजको यात्रा कहिले पुनः सुरु हुन्छ भन्ने विषयमा कम्पनीले निश्चित मिति सार्वजनिक गरेको छैन।

साढे तीन वर्षको विश्व यात्रामा आर्थिक संकट

करिब २०० मिटर लामो ‘ओडिसी’ले सन् २०२४ अक्टोबरमा उत्तरी आयरल्यान्डको बेलफास्टबाट आफ्नो विश्व भ्रमण सुरु गरेको थियो। झन्डै साढे तीन वर्षसम्म समुद्री यात्रामा रहेर करिब १५० देश पुग्ने यसको लक्ष्य थियो।

एसोसिएटेड प्रेसका अनुसार जहाजमा १५ देशका २०३ यात्रु र १५६ जना चालक दलका सदस्य थिए। जहाजमा एकपटकमा ६५० जनासम्म अटाउन सक्ने क्षमता छ।

अक्टोबर २३ मा कम्बोडियाको सिहानुकभिल बन्दरगाह पुगेको जहाज पाँच दिनपछि भियतनामतर्फ प्रस्थान गर्ने तयारीमा थियो। तर इन्धनको बढ्दो मूल्यले सञ्चालन खर्च धान्न कठिन भएपछि यात्रा रोक्नुपरेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार इरान युद्ध सुरु भएयता एसियाका केही क्षेत्रमा प्रतिक्याबिन मासिक इन्धन खर्च १ हजार ८०० अमेरिकी डलरबाट बढेर ६ हजारदेखि ८ हजार डलरसम्म पुगेको छ।

खर्च घटाउन जहाजको गति कम गर्ने र बन्दरगाहमा लामो समय बिताउने रणनीति अपनाइए पनि त्यसले आर्थिक दबाब कम गर्न सकेन। बढेको सम्पूर्ण खर्च यात्रुमाथि थप्नु उचित विकल्प नभएको कम्पनीले जनाएको छ।

समुद्रलाई स्थायी घर बनाउने सपना अधुरो

‘ओडिसी’ परम्परागत पर्यटकीय क्रुज जहाजभन्दा फरक अवधारणामा सञ्चालन गरिएको थियो। यसको उद्देश्य मानिसलाई समुद्रमा घुमाउनु मात्र नभई समुद्रलाई नै आफ्नो स्थायी घर बनाउन चाहनेहरूलाई आवास उपलब्ध गराउनु थियो।

जहाजका क्याबिनहरू १ लाख २० हजारदेखि ४ लाख ४० हजार अमेरिकी डलरसम्ममा बिक्री गरिएका थिए। त्यस्तै, मासिक ३ हजार ५०० डलरदेखि भाडामा बस्न सकिने व्यवस्था पनि थियो। अवकाशपछि समुद्रमा बसेर विभिन्न देश घुम्ने चाहना भएका व्यक्तिका लागि कम्पनीले आजीवन बसोबास कार्यक्रमसमेत ल्याएको थियो।

तर अहिले त्यही सपना बोकेर जहाजमा बस्दै आएका यात्रुहरूले कम्बोडियामा होटल तथा अन्य अस्थायी आवास खोज्नुपर्ने अवस्था आएको छ।

यात्रा फेरि सुरु हुने आशामा यात्रु

जहाजकी यात्रु होली हेनेसीले बीबीसीसँग कुरा गर्दै आफूहरू विभिन्न होटलमा बसेर कम्पनीको आगामी निर्णय पर्खिरहेको बताएकी छन्। उनीसँग ‘क्याप्टेन’ नामको बिरालो पनि छ।

लामो समय कम्बोडियामा बस्नुपर्ने अवस्था आउला भन्ने आफूले कल्पना नगरेको उनले बताइन्। यद्यपि कम्पनीले यात्रा स्थायी रूपमा अन्त्य भएको घोषणा नगरेसम्म आशा नत्याग्ने उनको भनाइ छ।

उनका अनुसार समुद्रमा बस्दै विश्वका विभिन्न देश घुम्ने जीवनशैली फेरि प्राप्त गर्न कठिन हुनेछ।

यसअघि पनि ढिलाइ र आर्थिक समस्या

‘ओडिसी’को विश्व यात्रा सुरु हुनुअघि पनि मर्मतसम्भारका कारण महिनौँ ढिलाइ भएको थियो। त्यसबेला यात्रुहरू बेलफास्टमै लामो समय बस्न बाध्य भएका थिए भने कम्पनीले आर्थिक क्षति बेहोर्नुपरेको थियो।

पछिल्लो इन्धन संकटले जहाजको सञ्चालनलाई थप कठिन बनाएको छ। कम्पनीले आर्थिक पुनर्संरचना र नयाँ लगानी जुटाउने प्रयास गरिरहेको भए पनि ती प्रयास सफल हुने निश्चितता छैन।

समुद्रलाई घर बनाएर विश्व भ्रमण गर्ने सपना देखेका २०३ यात्रुका लागि अहिलेको अवस्था अनपेक्षित मोड बनेको छ। उनीहरूको यात्रा पुनः सुरु हुन्छ वा हुँदैन भन्ने निर्णय अब कम्पनीको आर्थिक अवस्था र आगामी व्यवस्थापन योजनामा निर्भर रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय