काठमाडौं । सादा पोशाकका प्रहरीद्वारा सञ्चारगृहबाटै पत्रकारलाई नियन्त्रणमा लिने र खोजी गर्ने घटना सार्वजनिक भएपछि पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन्।

मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।

यसअघि बिहीबार सादा पोशाकका प्रहरीहरू नयाँ पत्रिकाको कार्यालयमा पुगेर पत्रकार नवराज मैनालीको खोजी गरेका थिए। प्रहरीले माथिल्लो निकायको आदेशअनुसार उनलाई लिन आएको बताए पनि त्यसको स्पष्ट कारण खुलाएको थिएन। पक्राउ पुर्जी माग्दा आफूहरू पक्राउ गर्न नभई कार्यालयमा लैजान आएको प्रहरीको दाबी थियो।

त्यसैगरी, सादा पोशाकमा नेपालप्रेसको कार्यालय पुगेको तीन जनाको प्रहरी टोलीले पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएर गएको थियो। उनलाई कहाँ लगिएको हो भन्नेबारे सुरुमा स्पष्ट जानकारी दिइएको थिएन।

यस घटनापछि पत्रकारलाई सञ्चारगृहबाटै नियन्त्रणमा लिने प्रहरीको कार्यशैली, पक्राउको आधार र प्रेस स्वतन्त्रताको अवस्थाबारे प्रश्न उठेको थियो।

यसैबीच, प्रधानमन्त्री बालेन शाहको सचिवालयले पत्रकारहरूमाथि गरिएको धरपकडबारे आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएको छ।

बुधबार नेपाल प्रहरीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित समाचारलाई लिएर सरकारविरुद्ध षड्यन्त्र भएको भन्दै अनुसन्धान तथा कारबाहीको चेतावनी दिएको थियो। त्यसको भोलिपल्टै पत्रकारमाथि धरपकड र खोजी सुरु भएको घटनाले सञ्चार क्षेत्रको ध्यान तानेको थियो।

सबै पत्रकार रिहा भएको जानकारीसँगै सञ्चारमन्त्रीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए पनि पत्रकारमाथि भएको धरपकडको कारण र त्यसको कानुनी आधारबारे भने थप स्पष्टता आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय