काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि अनिवार्य रूपमा टोल शुल्क तिर्नुपर्ने भएको छ। सडक बोर्ड नेपालको निर्णयअनुसार सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारीसाधनका लागि फरक–फरक दर निर्धारण गरिएको हो।
निर्धारित शुल्कअनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, मिनी ट्रक तथा टिपरका लागि प्रवेशतर्फ ११५ र बाहिरिने दिशामा ८० रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै, बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। ठूला ट्रक तथा लरी जस्ता हेभी सवारीसाधनका लागि प्रवेशमा ६०० र बाहिरिने क्रममा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
सडक बोर्डको कार्यकारी समितिले गत १२ असोजमा गरेको निर्णय तथा २६ चैत २०८२ मा राजपत्रमा प्रकाशित सूचनाका आधारमा टोल शुल्क संकलन गर्न लागिएको हो।
निर्माण सुरु भएको करिब ८० महिनापछि गत ११ साउनमा सञ्चालनमा आएको सुरुङमार्ग सुरुमा चरणबद्ध रूपमा सवारीसाधनका लागि खुला गरिएको थियो। पहिलो चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीलाई प्रवेश दिइएको थियो। त्यसपछि ८ भदौदेखि साना तथा नौ सिट क्षमतासम्मका सवारीसाधनलाई अनुमति दिइएको थियो।
तर, १७ भदौमा नागढुंगा ओरालो क्षेत्रमा सडक भासिएर यातायात अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थाका रूपमा सबै प्रकारका सवारीसाधनलाई निःशुल्क सुरुङमार्ग प्रयोग गर्न दिइएको थियो। यही व्यवस्थाअन्तर्गत शनिबार १४ कात्तिकसम्म सवारीसाधनले निःशुल्क यात्रा गरेका थिए।
आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सडक भासिएपछि उत्पन्न परिस्थितिका कारण सुरुङमार्गलाई आकस्मिक रूपमा सबै सवारीका लागि खुला गरिएको थियो। त्यस क्रममा परीक्षण सञ्चालनसँगै व्यवस्थापनको काम पनि गरिएको उनले बताए।
उनका अनुसार हाललाई टोल शुल्क नगद र क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। भविष्यमा स्वचालित कार्ड प्रणालीसमेत लागू गर्ने तयारी छ।
सुरुङमार्गभित्र सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर निर्धारण गरिएको छ। आयोजनाका अनुसार यसअघि नागढुंगा उकालो हुँदै धादिङबाट काठमाडौं आउँदा सवारी चापका कारण साना सवारीलाई करिब १५ मिनेट र ठूला सवारीलाई ३५ मिनेटसम्म लाग्ने गरेको थियो। तर, सुरुङमार्ग प्रयोग गर्दा धादिङको सिस्नेखोलाबाट बलम्बुको किसिपिडीसम्म करिब सात मिनेटमै पुग्न सकिनेछ।
मुख्य सुरुङ २.६८८ किलोमिटर र आपत्कालीन सुरुङ २.५५७ किलोमिटर लामो छ। सुरुङभित्र हावा आवतजावतका लागि १५ वटा जेट फ्यान जडान गरिएका छन्। मुख्य तथा आपत्कालीन सुरुङलाई जोड्ने गरी प्रत्येक ३७५ मिटरको दूरीमा सातवटा क्रस प्यासेज निर्माण गरिएको छ।
सुरक्षा व्यवस्थाका कारण पैदलयात्री, मोटरसाइकल, तीनपांग्रे तथा अन्य गैरमोटरयुक्त सवारीलाई सुरुङमा प्रवेश निषेध गरिएको छ। त्यस्तै, पेट्रोल, डिजेल, ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारीसाधनले पनि सुरुङ प्रयोग गर्न पाउने छैनन्।
सुरुङमार्ग चौबिसै घण्टा सञ्चालनमा रहनेछ। यसको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी चिनियाँ कम्पनी युसिन र नेपाली कम्पनी एआरटीको संयुक्त उपक्रम (जेभी) ले पाएको छ। सेवा प्रदायक कम्पनीले आगामी पाँच वर्षसम्म सुरुङको सञ्चालन, मर्मतसम्भार, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार र टोल शुल्क संकलनको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ।
सुरुङ सञ्चालनसँगै भित्री वातावरणमा प्रदूषण बढेको तथा सवारीसाधनले लेन अनुशासन पालना नगरेको गुनासो पनि आउन थालेको छ। विशेषगरी ठूला मालवाहक सवारीबाट निस्कने धुवाँले सुरुङभित्र प्रदूषण बढाएको आयोजनाको भनाइ छ।
यस विषयमा यातायात व्यवस्था विभागसँग समन्वय गरी सुरुङ प्रवेश गर्नुअघि नै मालवाहक सवारीसाधनको प्रदूषण परीक्षण गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको आयोजना निर्देशक नेपालले जानकारी दिए। त्यस्तै, सीसी क्यामेरामार्फत लेन अनुशासन उल्लंघन गर्ने सवारीसाधनको निगरानी गरी ट्राफिक प्रहरीले कारबाहीसमेत गर्दै आएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ४ कात्तिक २०७६ मा चन्द्रागिरि नगरपालिका–२ स्थित टुटीपाखामा शिलान्यास गरेपछि सुरुङमार्ग निर्माण सुरु भएको थियो। ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड महामारी र स्थानीय अवरोधलगायत कारणले निर्माणमा ढिलाइ भएको थियो।
जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माणको ठेक्का पाएको यस आयोजनाको काम सम्पन्न गरी जेठ २०८३ मा आयोजना कार्यालयलाई हस्तान्तरण गरेको थियो। सम्झौताअनुसार हस्तान्तरण भएको एक वर्षसम्म सुरुङमा कुनै समस्या देखिए निर्माण कम्पनीले नै मर्मतसम्भार गर्नुपर्नेछ।












