काठमाण्डु – बंगालको खाडीमा बनिरहेको न्यूनचापीय प्रणालीको प्रभावले ८ देखि १२ असोजसम्म नेपालका विभिन्न भागमा वर्षा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न पूर्वानुमान मोडेलको अध्ययन गर्दा त्यस अवधिमा देशका धेरैजसो क्षेत्रमा पानी पर्न सक्ने देखिएको छ। केही ठाउँमा भारी वा अत्यधिक वर्षाको सम्भावना भएकाले पूर्वतयारी र सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेअनुसार केही मोडेलले ८–१२ असोजमा ४०० मिलिमिटरभन्दा बढी, र कतिपयले निश्चित क्षेत्रमा ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने संकेत गरेका छन्। तर यो वर्षा सबै ठाउँमा समान नभई केही खास क्षेत्रमा केन्द्रित हुन सक्ने उनको भनाइ छ।
पोखरेलले भनेका छन्, धेरै फोरकास्ट मोडेल हेरेरै यो पूर्वानुमान सार्वजनिक गरिएको हो, र उद्देश्य डर देखाउनु नभई तयारी चाँडो गर्न मद्दत गर्नु हो।
उनका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्र (पञ्जाब, हरियाणा, राजस्थान र दिल्लीसम्म) मा मनसुन सकिएसँगै त्यहाँबाट सुख्खा हावा नेपालतर्फ आउँदैछ। यस हावाले बंगालको खाडीको न्यूनचापीय प्रणालीको गतिलाई प्रभाव पार्ने भएकाले प्रणाली नेपालतर्फ सर्न सक्छ, जसले केही क्षेत्रमा ठूलो वर्षा ल्याउन सक्ने देखिएको छ।
सम्भावित जोखिमलाई हेरेर सम्बन्धित निकायले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा पूर्वतयारी, सूचना प्रवाह र उद्धार व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने मौसमविद्हरूले सुझाव दिएका छन्।












