काठमाडौं, २० असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका पुनः सञ्चालनका लागि चीनसँग लगातार कुराकानी भइरहेको जानकारी दिएका छन् । सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले यो कुरा राखेका हुन् ।
मन्त्री लम्सालका अनुसार नेपाली पक्षले आफ्नो तर्फबाट सबै तयारी पूरा गरिसकेको छ र नाका चलाउन कुनै अप्ठ्यारो छैन । तर चीनले अझै अनुमति नदिएकाले नाका खुल्न सकेको छैन । “हामी तयार छौं, चिनियाँ पक्षसँग प्रायः दैनिक छलफल हुन्छ,” उनले भने ।
उनले बाढी तथा अन्य विपद्को जोखिमलाई कारण देखाउँदै यस्तो अवस्थामा चिनियाँ सरकार केही हदसम्म हिचकिचाउने गरेको बताए । विपद्को समयमा नाका सञ्चालन गर्न चीनले अझै हरियो बत्ती नदेखाएको उनको भनाइ थियो । यद्यपि छिट्टै नै नाका खोल्न सकिने विश्वास उनले व्यक्त गरे ।
विपद्ले क्षति पुगेका सडक तथा अन्य पूर्वाधार तत्काल पुनःस्थापना गर्ने काम सरकारले गरिरहेको पनि मन्त्रीले जानकारी दिए ।
साथै, चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले रसुवागढी नाकालाई पनि फेरि सञ्चालनमा ल्याउन सरकारले योजना बनाइरहेको उनले बताए












