काठमाडौं, मंसिर ४। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा पुगेको हो।
पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाउँदै रोमाञ्चक जित हासिल गर्यो।
सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायकेले अविजित ५३ रनको महत्वपूर्ण योगदान दिए। उनको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिमले एक बल बाँकी छँदै जित सुनिश्चित गरेको हो।
यस जितसँगै सुदूरपश्चिमले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। फाइनल खेल शनिबार, नोभेम्बर २१ मा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।
यसैबीच, एनपीएल फाइनलको टिकट बिक्री सुरु नहुँदै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरूले असन्तुष्टि जनाएका छन्। शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुल्ने जानकारी दिइए पनि दिउँसो १२ बजेर ५७ मिनेटमै प्लेटफर्ममा टिकट सकिएको देखिएको थियो।
केही प्रयोगकर्ताको स्क्रिनमा भने टिकट बिक्री दिउँसो १ बजे खुल्ने समय देखिए पनि बिक्री सुरु भएपछि टिकट खरिद गर्ने प्रयास सफल नभएको दर्शकहरूले बताएका छन्। दिउँसो १ बजेर १ मिनेटमा समेत टिकट काट्न नसकेको भन्दै धेरैले सामाजिक सञ्जालमार्फत गुनासो गरेका छन्।
टिकट बिक्री सुरु हुनुअघि नै ‘सोल्ड आउट’ देखिनु र बिक्री खुल्ने समयमै खरिद गर्न खोज्दा पनि टिकट उपलब्ध नहुनुले टिकट व्यवस्थापन र बिक्री प्रक्रियामाथि प्रश्न उठाएको छ।
यसअघि पनि एनपीएलका खेलहरूको टिकट बिक्री खुल्ने समयमा प्राविधिक समस्या देखिने र केही समयमै टिकट सकिने गरेको भन्दै दर्शकहरूले गुनासो गर्दै आएका थिए।
एकातिर सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको उपाधि भिडन्तलाई लिएर क्रिकेटप्रेमीमा उत्साह बढेको छ भने अर्कोतर्फ फाइनलको टिकट बिक्री प्रक्रियाले दर्शकमा निराशा र असन्तुष्टि पैदा गरेको छ।
















