
सैलुङ, दोलखा ।काठमाडौंमा २०८० चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले देशभरका शैक्षिक गतिविधिमा गम्भीर असर परेको छ। शिक्षक तथा कर्मचारीहरूको आन्दोलनका कारण विद्यालयमा विद्यार्थी भर्ना अभियान, पठनपाठन, SEE उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा लगायतका वार्षिक शैक्षिक कार्यहरू प्रभावित भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सैलुङ गाउँपालिका समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दीर्घकालीन शैक्षिक समस्या समाधान तथा उचित निकासका लागि सरकार र शिक्षक महासंघबीच विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ। साथै, आगामी शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
विज्ञप्तिमा आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूको जायज मागलाई गम्भीरतापूर्वक सम्बोधन गरी आन्दोलन हटाई नियमित शैक्षिक कार्यक्रम सञ्चालन हुन सक्ने वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गरिएको छ।
उक्त विज्ञप्तिमा पार्टी अध्यक्ष निला कुमार श्रेष्ठको हस्ताक्षर रहेको छ।