
विश्वका करिब २५ करोड अर्थोडक्स तथा कोप्टिक ख्रीष्टियन समुदायले आज जनवरी ७ का दिन ख्रीष्टमस पर्व श्रद्धा, प्रार्थना र धार्मिक विधिसहित मनाइरहेका छन्। येशू ख्रीष्टको जन्मदिनको स्मरणमा मनाइने यो पर्व डिसेम्बर २५ मा होइन, जनवरी ७ मा मनाइनुका पछाडि फरक पात्रो प्रणालीको ऐतिहासिक कारण रहेको छ।
विभिन्न देशमा ख्रीष्टमसको रौनक
इथियोपियाको राजधानी अदिस अबाबास्थित मेस्केल स्क्वायरमा अर्थोडक्स ख्रीष्टमसको पूर्वसन्ध्यामा हजारौँ श्रद्धालुहरू भेला भएर सामूहिक प्रार्थनामा सहभागी भए। यता, कब्जामा रहेको पश्चिमी किनाराको बेथलेहेममा अवस्थित चर्च अफ द नेटिभिटी—जहाँ येशू ख्रीष्ट जन्मिएको विश्वास गरिन्छ—मा ग्रीक अर्थोडक्स प्याट्रियार्क अफ जेरुसेलम थियोफिलोस तृतीयको आगमनका लागि धर्मगुरुहरू तयारीमा जुटेका थिए।
बेथलेहेमकै म्याञ्जर स्क्वायरमा प्यालेस्टिनी स्काउट ब्याण्डहरूले परम्परागत मार्च गर्दै पर्वको उल्लास थपेका छन्। जर्जियाको टिबिलिसीस्थित काश्वेती चर्च अफ सेन्ट जर्ज बाहिर श्रद्धालुहरू खुला स्थानमै विशेष प्रार्थनामा सहभागी भए।
इजिप्टको कायरोमा आर्चएन्जेल माइकल चर्चमा कोप्टिक अर्थोडक्स बिशपको नेतृत्वमा ख्रीष्टमस प्रार्थना सम्पन्न भयो। इरानको तेहरानस्थित सेन्ट सार्किस आर्मेनियन क्याथेड्रलमा इरानी ख्रीष्टियन समुदायले पनि अर्थोडक्स ख्रीष्टमस मनाएका छन्।
सर्बियाको बेलग्रेडमा सेन्ट साभा चर्च अगाडि सुक्खा ओकका हाँगा बाल्ने परम्परा निभाइयो, जसले ‘युल लग’लाई प्रतीक गर्छ। रुसको सेन्ट पिटर्सबर्गस्थित क्रोनस्टाट नेभल क्याथेड्रलमा महिलाले मैनबत्ती बाल्दै प्रार्थना गरिरहेका दृश्यहरू देखिएका छन्।
यसैबीच, गाजामा इजरायलको युद्ध जारी रहेका बेला पनि ग्रीक अर्थोडक्स सन्त पोर्फिरियस चर्चमा आर्चबिशप एलेक्सियोसको उपस्थितिमा ख्रीष्टमस प्रार्थना सम्पन्न भएको छ।
किन जनवरी ७ मा ख्रीष्टमस?
अर्थोडक्स र कोप्टिक ख्रीष्टियनहरूले येशू ख्रीष्ट फरक दिन जन्मिएको विश्वास गर्दैनन्। उनीहरू फरक पात्रो प्रयोग गर्छन्। सन् १५८२ मा पोप ग्रेगरी तेह्रौँले क्याथोलिक चर्चका लागि ग्रेगोरियन पात्रो लागू गरेपछि यो भिन्नता सुरु भएको हो।
त्यसभन्दा अघि प्रयोग हुँदै आएको जुलियन पात्रो (जुलियस सिजरद्वारा ई.पू. ४६ मा लागू) सौर वर्षभन्दा ११ मिनेट लामो थियो, जसका कारण ऋतुहरू क्रमशः सर्दै गएका थिए। जुलियन पात्रो हरेक १२८ वर्षमा एक दिन पछाडि पर्दछ भने ग्रेगोरियन पात्रो ३,२३६ वर्षमा मात्र एक दिन फरक पर्छ, जसले यसलाई बढी वैज्ञानिक बनाउँछ।
आजको अवस्थामा जुलियन पात्रो ग्रेगोरियन पात्रोभन्दा १३ दिन पछाडि छ। त्यसैले जुलियन पात्रो अनुसारको डिसेम्बर २५, ग्रेगोरियन पात्रोमा जनवरी ७ पर्न आउँछ। यदि यही पात्रो प्रयोग निरन्तर रह्यो भने सन् २१०१ पछि अर्थोडक्स ख्रीष्टमस जनवरी ८ मा सर्नेछ।
कुन–कुन समुदायले जनवरी ७ मा ख्रीष्टमस मनाउँछन्?
विश्वका करिब २.३ अर्ब ख्रीष्टियनमध्ये करिब २ अर्बले डिसेम्बर २५ मा ख्रीष्टमस मनाउँछन्। बाँकी २५–३० करोड ख्रीष्टियन, विशेषगरी अर्थोडक्स र कोप्टिक समुदायले जनवरी ७ मा ‘ओल्ड क्रिसमस डे’ मनाउने गर्छन्।
यसमा प्रमुख रूपमा:
- रुसको अर्थोडक्स चर्च (सबैभन्दा ठूलो समूह)
- सर्बिया र जर्जियाका अर्थोडक्स चर्च
- इजिप्टको कोप्टिक अर्थोडक्स चर्च
- इथियोपिया र इरिट्रियाका अर्थोडक्स तेवाहेडो चर्चहरू पर्छन्।
युक्रेनले सन् २०२३ देखि आधिकारिक रूपमा डिसेम्बर २५ लाई ख्रीष्टमस सार्वजनिक बिदा बनाएको भए पनि धेरै नागरिकले अझै जनवरी ७ मा धार्मिक रूपमा मनाउने गर्छन्। बेलारुस र मोल्डोभामा भने दुवै मितिमा सार्वजनिक बिदा दिइन्छ।
पात्रो प्रणाली र नयाँ वर्ष
जनवरी १ लाई नयाँ वर्ष मान्ने परम्परा ख्रीष्टमतभन्दा अघिको हो। रोमनहरूले ई.पू. १५३ मै यस दिनलाई नयाँ वर्षको सुरुवात मानेका थिए। जुलियस सिजरले पनि आफ्नो पात्रो सुधारमा यही मिति कायम राखे।
येशू ख्रीष्टको वास्तविक जन्ममिति निश्चित नभएकाले प्रारम्भिक ख्रीष्टियनहरूले मार्च २५ (घोषणा पर्व) लाई गर्भाधानको दिन मानेर त्यसमा नौ महिना थप्दै डिसेम्बर २५ रोजेका थिए।
फरक–फरक पात्रो, फरक संस्कृति
विश्वमा सौर पात्रो, चन्द्र पात्रो र सौर–चन्द्र पात्रो प्रचलनमा छन्। ग्रेगोरियन पात्रो सौर पात्रो हो भने इस्लामिक पात्रो चन्द्र पात्रोमा आधारित छ। यहूदी, हिन्दू, बौद्ध, सिख र चिनियाँ पात्रो सौर–चन्द्र प्रणालीमा आधारित छन्।
यसरी पात्रो फरक भए पनि येशू ख्रीष्टको जन्मको स्मरण र शान्ति, प्रेम तथा करुणाको सन्देश भने विश्वभरका ख्रीष्टियन समुदायका लागि एउटै रहेको देखिन्छ।
News By: Vishu Gurung (Member, FNJ Lalitpur)
Source: Reuters













