काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण कात्तिक १० देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल मौसम सामान्य रहे पनि आगामी साता वर्षा हुन सक्ने भएकाले कृषि, पर्यटन र खेलकुद गतिविधिमा असर पर्न सक्छ। धान भित्र्याउने किसानलाई कात्तिक ७ गतेभित्रै काम सक्न र सर्वसाधारणलाई मौसमको पछिल्लो सूचना हेरेर मात्रै यात्रा तथा कार्यक्रम तय गर्न आग्रह गरिएको छ।
मौसमसम्बन्धी जानकारीका लागि विभागको वेबसाइट वा ११५५ मा सम्पर्क गर्न सकिनेछ।












