ललितपुर, १६ वैशाख ।ललितपुर जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागको संयुक्त समन्वयमा जिल्लाभित्रका बजार तथा उद्योगहरूमा अनुगमन कार्यलाई तीव्र पारिएको छ। पछिल्लो समय उपभोक्ता ठगिने क्रम बढेको गुनासो आएपछि प्रशासनले अधिकतम खुद्रा मूल्य (MRP) कार्यान्वयन र गुणस्तर सुनिश्चित गर्न विशेष सक्रियता देखाएको हो।

प्रशासनले साना पसलदेखि ठूला उद्योग र नाम चलेका डिपार्टमेन्टल स्टोरहरूलाई अनुगमनको दायरामा ल्याएको छ। यस अभियानको मुख्य उद्देश्य बजारमा कृत्रिम मूल्यवृद्धि रोक्नु र उपभोक्तालाई गुणस्तरीय वस्तुको उपलब्धता सुनिश्चित गर्नु रहेको प्रशासनले जनाएको छ।

बुधबार गरिएको सघन निरीक्षणका क्रममा अधिकांश व्यापारिक प्रतिष्ठानहरूमा गम्भीर लापरबाही फेला परेका छन्। वस्तुको परिमाण, उत्पादन मिति र गुणस्तरसम्बन्धी स्पष्ट जानकारी नभएका सामानहरू समेत बिक्रीमा राखिएको भेटिएको छ।

निरीक्षण टोलीले कैफियत भेटिएका उद्योग तथा स्टोरहरूलाई तत्काल सुधारका लागि निर्देशन दिएको छ। वस्तुको लेबलमा स्पष्ट विवरण राख्न, सरसफाइमा विशेष ध्यान दिन र तोकिएको मूल्य (MRP) भन्दा बढी नलिन कडा निर्देशन दिइएको छ।

प्रशासनले आगामी दिनमा पनि यस्ता छड्के अनुगमनलाई निरन्तरता दिने र कैफियत दोहोरिएमा पसल सिल गर्ने वा जरिवाना गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय