न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा न्युयोर्कस्थित मुख्यालयमा औपचारिक रूपमा सुरु भएको छ। सेप्टेम्बर २९ सम्म चल्ने महासभामा विश्वशान्ति, सुरक्षा, जलवायु परिवर्तन, गरिबी, दिगो विकास र डिजिटल शासनलगायत विषयमा व्यापक छलफल हुँदैछ।

यस वर्षको महासभाको मुख्य नारा ‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ’ रहेको छ।

उद्घाटन सत्रमा महासभाका अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनियो गुटेरेसले विश्वमा बढ्दो द्वन्द्व, भूराजनीतिक तनाव, गरिबी, जलवायु संकट तथा आणविक जोखिमप्रति चिन्ता व्यक्त गरे। उनीहरूले जटिल विश्व परिस्थितिको सामना गर्न संवाद, सहकार्य र बहुपक्षीय प्रयासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

महासभामा दिगो विकास लक्ष्यको कार्यान्वयन, जलवायु न्याय, डिजिटलाइजेसन र संयुक्त राष्ट्रसङ्घको सुधार लगायत विषयमा पनि महत्वपूर्ण बहस हुने अपेक्षा गरिएको छ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगले महासभाबाट रचनात्मक र ठोस परिणाम आउने विश्वास व्यक्त गरेको छ। नेपालले विश्वशान्ति र जलवायु न्यायका पक्षमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

महासभाको पहिलो दिन नेपाली स्थायी नियोग प्रमुख लोकबहादुर थापाले अल्पविकसित राष्ट्रहरूको विकासका चुनौतीबारे आवाज उठाउँदै उत्पादन क्षमता, डिजिटल प्रविधि, जलवायु सहनशीलता, क्षेत्रीय व्यापार र विकासका लागि आवश्यक अन्तर्राष्ट्रिय वित्तीय स्रोत सुनिश्चित गर्न विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।

एजन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय