नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशन क्रममा शनिबार मतदाता नामावली प्रकाशनपछि कार्यकर्ताहरू निकै उत्साही भएका थिए। निर्वाचन कार्यतालिका आएपछि त उनीहरू दंगै परे।

मतदाता नामावली र निर्वाचन कार्यतालिका टाँसिएको बोर्डमा निकैबेरसम्म फोटो खिच्नेको भीड लाग्यो। नलागोस् पनि किन, आखिर माओवादी केन्द्रमा यस्तो घटना पहिलोपटक हुँदै थियो।यसपटक पनि हुन्थेन होला, निर्वाचन आयोगले तोेकेको प्रक्रिया पुर्‍याउनुपर्ने नभइदिएको भए।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु को चाहनाविपरीत कोही केन्द्रीय सदस्य हुन सक्दैन भन्नै धेरैलाई थाहा थियो। तै पनि प्रचण्डले केन्द्रीय सदस्य छनौटका लागि प्रदेश कमिटीलाई जिम्मा दिएका थिए। आफूलाई जबर्जस्ती गर्न खोजेको आरोप नलागोस् भनेर मात्रै उनले प्रदेश कमिटीलाई यस्तो जिम्मेवारी दिएका हुन्। सँगै क्लस्टरअनुसारको नाम छुट्टयाउन सजिलो होस् भनेर उनले अरूलाई पनि नाम छनौटको जिम्मेवारी दिए।

प्रचण्डले लोकतान्त्रिक प्रक्रियाअनुसार नै नेतृत्व चयन गर्न चाहेका थिए भने उम्मेदवारी दर्ता गर्नबाट कसैलाई रोक्ने थिएनन्। यस मामिलामा उनी एमाले अध्यक्ष केपी ओलीभन्दा अनुदार देखिएका छन्।चितवनमा भएको एमाले महाधिवेशनमा ओलीले पनि प्रचण्डले जसरी नै केन्द्रीय सदस्यको नामावली पढेका थिए।पढिसकेपछि ओलीले चित्त नबुझेकाहरूले उम्मेदवारी दिन सक्ने बताएका थिए। सँगसँगै, आफूले घोषणा गरेको प्यानलविरूद्ध उम्मेदवारी दिनेलाई मतदान नगर्न उर्दी पनि जारी गरेका थिए।

यता प्रचण्डले पनि आइतबार बन्दसत्रमा जसै केन्द्रीय सदस्यको सूची पढे, उनले त्यसलाई ताली बजाएर अनुमोदन गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरे। प्रतिनिधिहरूले ताली बजाए, महाधिवेशन सकियो।

यहाँ उनले ओलीले जस्तै चित्त नबुझेकाहरूले उम्मेदवारी दिन पाउनेछन् भनेनन्। बरू सूचीमा नपरेकाहरूलाई यसरी मिलाउँछु र उसरी मिलाउँछु भनेर आश्वासन चाहिँ बाँडे।

बन्दसत्रमा प्रचण्डको सूचीविरूद्ध विरोधको स्वर सुनिएन। केही बेरसम्म केन्द्रीय सदस्यहरूलाई बधाई दिने अनि माओवादीका पक्षमा नारा लगाउने क्रम चल्यो।

खस आर्यको क्लस्टरबाट केन्द्रीय सदस्यहरूको नाम पढ्दा सुरूमै आफ्ना भाइ नारायण दाहालको नाम पढेका प्रचण्डले खुलातर्फका केन्द्रीय सदस्यको सूचीमा २३औं नम्बरमा आफ्नो नाम पढेका थिए। प्रचण्डले छानेका सबै केन्द्रीय सदस्यले उम्मेदवारी दर्ता गराइसकेका छन्। माओवादीको केन्द्रीय निर्वाचन आयोग प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार प्रचण्डले प्रस्ताव गरेकाबाहेक अरूले उम्मेदवारी दिएका छैनन्।

पार्टीको नेतृत्वमा पुगेको साढे तीन दशकदेखि नै प्रचण्डका कमिटीहरू उनकै तजबिजमा यसैगरी चल्दै आएका छन्। भूमिगत हुनुभन्दा अघि र भूमिगत कालको कुरा अलग्गै हुनसक्छ तर खुला राजनीतिमा आएपछि पनि प्रचण्डले पार्टीलाई आफ्नै तालमा चलाइरहे र जहिले पनि अस्थिर बनाइरहे।

उनले पार्टीमा आफ्नो विरोध गर्नेहरूलाई कुनै न कुनै रूपमा निस्किन बाध्य पारे। उनका सबै समकालीन नेताहरू प्रचण्ड नेतृत्वको माओवादीभन्दा बाहिर छन्। अहिले आफ्ना समर्थक मात्रै हुँदा पनि प्रचण्डले पार्टीलाई अस्थिर बनाइरहेका छन्।

यही महाधिवेशनका सन्दर्भमा भएका केही घटनाक्रम मात्र हेर्ने हो भने पनि उनी कति अस्थिर छन् भन्ने प्रस्ट हुन्छ।

पहिलो त, उनले तीनदिने सम्मेलन भनेर कार्यकर्तालाई बोलाएका थिए। तर सम्मेलन सुरू हुने अघिल्लो दिन महाधिवेशन भन्दिए। कार्यकर्ताहरू पुसको जाडोमा ८ दिन काठमाडौं बस्न बाध्य भए।

आठौं महाधिवेशन हुने दिन बसेको केन्द्रीय कमिटी बैठकले १५ जना पदाधिकारी राख्ने निर्णय गरेको थियो। अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक महासचिव, दुई जना उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान माओवादीले प्रस्ताव गरेको थियो। तर आफ्नै प्रस्ताव प्रचण्डले खारेज गरिदिए।

पदाधिकारी संख्या र चयन गर्ने जिम्मा हलले केन्द्रीय कमिटीलाई दिएको छ। माओवादीमा महाधिवेशन सकिँदासम्म कति पदाधिकारी रहन्छन् भन्ने टुंगो लागेको छैन।

यसबीच आठ दिनसम्म विचार र नेतृत्वका लागि बहस भएको छ। प्रचण्डको गोजीबाटै निकालिएको नामावली भए पनि केन्द्रीय सदस्य चयन भएका छन्। तर प्रचण्डले यी सबैले पूरा कार्यकाल काम गर्न पाउँदैनन् भन्ने संकेत दिइसकेका छन्। तीनवटै तहको निर्वाचनपछि विशेष महाधिवेशन गर्ने भनेर उनले अस्थिरताको संकेत दिइसकेका छन्। विशेष महाधिवेशनपछि फेरि नयाँ नेतृत्व चयन हुन्छ भन्ने प्रतिनिधिहरूको अनुमान छ।

सोमबार बस्ने माओवादी केन्द्रीय कमिटी बैठकले अरू केही गर्न नसके पनि प्रचण्डलाई अध्यक्ष बनाउनेछ। प्रचण्ड आज एक दिन चाहिँ माओवादी अध्यक्ष छैनन्।

आइतबार बेलुकी महाधिवेशन सकिएर सभाहलबाट बाहिर निस्किने क्रममा केही प्रतिनिधिले व्यंग्य गर्दै भनेका थिए, हाम्रो अध्यक्ष एक दिनका लागि केन्द्रीय सदस्य मात्रै हुनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय