रामेछाप । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) रामेछाप नगरपालिकोको मेयरको उम्मेदवार नरेशबाबु श्रेष्ठले नगरभित्रको विद्यालयमा १० कक्षासम्म दिवा खाजाको व्यावस्था गर्ने घोषणा गरेका छन् । आज आफ्नो प्रतिवद्धता–पत्र सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेको हो ।

मुख्य बँदाहरु

– महान शहिद गंगालाल, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक क.पुष्पलालको जन्मभुमि ऐतिहासिक यस रामेछाप नगरपालिकालाई प्राकृतिक रमणीय, सुन्दर नगरपालिकाको रुपमा विकास गरी सांस्कृतिक तथा राजनितिक पर्यटकीय केन्द्रको रुपमा रामेछाप नगरपालिकाको पहिचान स्थापित गरिनेछ ।
– राजनीतिमा देखिएको अपराधीकरण, भ्रष्टाचार, नातावाद, कृपावाद, मनोमानी तथा मनपरितन्त्रको अन्त्य गराउँदै राजनीतिलाई विशुद्ध सेवा हो भन्ने मान्यता स्थापित गरिनेछ ।
– जनमैत्री, वातावरण मैत्री, दिगो विकास, स्थानीय श्रोत साधनको परिचालन गरी रोजगारीको अवसर सिर्जना र आर्थिक विकास गरिनेछ ।
– स्थानीयस्तरमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभूत सेवामा जनताको सहज पहुँच र अधिकार स्थापित गरिनेछ ।
– महिला, बालबालिका, युवा, जेष्ठ नागरिक, अपाङ्ग र पछाडि पारिएका वर्ग समुदायको अधिकार सुनिश्चित बनाइनेछ ।
– आफ्नो अनुभवलाई सामाजिक सेवा, सरकारी तथा गैरसरकारी संघ संस्था र समुदायको हितमा लगाई समृद्ध, समुन्नत र सभ्य रामेछाप नगरपालिका बनाइनेछ ।
– सबै राजनैतिक दल, विचार समूह, वर्ग, समुदाय, विज्ञहरु र अनुभवी व्यक्तिहरूसँग राय सुझाव लिएर समन्वय, सहभागिता, समझदारी, सहकार्य र सफलताको मूल्यमान्यता स्थापित गरेर रामेछाप नगरपालिकाको चौतर्फी विकासमा सबैको योगदान सुनिश्चित गरिनेछ ।
– ‘जनताको योगदानमा रामेछाप कोष’स्थापना गरी ‘हामी बनाउछौँ हाम्रो रामेछाप’भन्ने संकल्प साकार पारिनेछ ।
– वडा र बस्तीहरुमा युवाको समूहलाई आजको युवा सीपयुक्त र जिम्मेवारी युवा बनाउन युवाको क्षमता विकास गरी विकास निर्माण, आर्थिक विकास र खेलकुद विकास तथा विपद् व्यवस्थापनमा युवा शक्ति परिचालन गरिनेछ ।
– हाम्रोलाई होइन राम्रोलाई विजयी गराउनुपर्छ भन्ने परिपाटिको सुरुवात गरिनेछ ।

पर्यटन तथा पूर्वाधार विकास
– रामेछाप नगरपालिकाको शहरी विकास गुरुयोजना निर्माण गरी सुन्दर सहर निर्माण गरिनेछ ।
– पुरानो सदरमुकामका रुपमा रहेको रामेछापलाई व्यवस्थित बनाइ गंगालाल र पुष्पलाल जन्मेको पालिकालाई सबैमाझ चिनाइनेछ ।
– स्थानीय भाषा, संस्कृति, सम्पदा तथा स्थानीय ज्ञान र सीपको संरक्षण प्रवर्धन गरी सबै जनजातिको पहिचानकोसुनिश्चितता गरी पर्यटन गुरुयोजना बनाई कार्यान्वयन गरी आर्थिक विकास गरिनेछ ।
– एक हजार (१०००) क्षमताको पुष्पलाल– गंगालाल सभाहल र पूर्णकदको शालिक निर्माणका साथै पुष्पलाल–गंगालाल बहुउदेश्य स्मृति पार्क,त्यसभित्र चिल्ड्रेन पार्क र अनुसन्धानकेन्द्रको निर्माण गरिनेछ ।
– सुनकोशी र लिखु नदीमा र्याफ्टिङका लागि सम्भाव्यता अध्ययन गरी व्यवस्थित र गुणस्तरीय बनाई जल पर्यटनमा आकर्षण गरिनेछ ।
– प्याराग्लाइडिङ, बन्जीजम्पका साथै केवलकारकोसम्भाव्यता अध्ययन गरिनेछ ।
– भूकम्प,बाढीपहिरो तथा आगलागीलगायतका पिडित घरपरिवारहरुको लागि विशेष राहत र पूर्वाधार विकासको व्यवस्था गरिनेछ ।

शिक्षा
– रामेछाप नगरपालिकाको आवधिक (२०७९–२०८३) पञ्चवर्षीय शिक्षा योजना बनाइ शिक्षाको योजनाबद्ध विकास गरिनेछ ।
– सबै बालबालिकालाई विद्यालय शिक्षाको सुनिश्चितता गरिनेछ ।
– शिक्षणमा नवीनतम प्रविधि प्रयोगका लागि कम्प्युटर ल्याव, साइन्स ल्याब, इ–लाइब्रेरीका साथै कक्षाकोठामा प्रोजेक्टरको व्यवस्था मिलाइनेछ ।
– माध्यमिक तहसम्मकोको शिक्षालाई निःशुल्क बनाइ अभिभावकहरुलाई पनि विद्यालय विकास कार्यमा पूर्ण संलग्न गराइनेछ ।
– हरेक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठनको सुरुवात गरिनेछ ।
– छात्रा र अपाङ्ग मैत्री विद्यालय भवन, शौचालयका साथै पूर्वाधार सम्पन्न सुरक्षित विद्यालय बनाइने छ ।
– सबै वडाहरुका टोलटोलमा र हरेक विद्यालयमा विद्युतीकरण गरी फ्रि वाइफाइ जोनको व्यवस्था गरिनेछ गरिनेछ ।
– सामुदायिक माध्यमिक विद्यालयहरूमा छात्रछात्राबासको निर्माण र स्कुल बस सञ्चालन गरिनुका साथै विषयगत दक्ष नगर शिक्षकको व्यवस्था गरी परिचालन गरिनेछ ।
– प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम विस्तार र शिक्षकका लागि क्षमता अभिवृद्धि तालिमका साथै विद्यालयको आत्मनिर्भरता र विकासका लागि विद्यालय आयआर्जन योजना र कार्यक्रम संचालन गरिनेछ ।
– दलित, जनजाती, गरिबीमा रहेका, अति विपन्न, जेहेन्दार र सहिद परिवारका सन्ततिका लागि उच्च शिक्षामा विशेष छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
– कक्षा दस(१०) सम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरिनेछ ।

स्वास्थ्य

– स्वास्थ्य चौकी तथा अस्पतालको स्थापना पूर्वाधार निर्माण तथा व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवाका लागि नगरपालिका क्षेत्रभित्र निःशुल्क एम्बुलेन्स सेवाका साथै प्रत्येक नागरिकको स्वास्थ्य बीमा अनिवार्य गर्नुका साथै जेष्ठनागरिक, विपन्न दलित, एकल महिला तथा पुरुष र अपाङ्ग भएका व्यक्तिहरुको स्वास्थ्य विमा निशुल्क गरिनेछ ।
– सबै वडाहरुमा तीन–तीन महिनामा विशेषज्ञसहितको स्वास्थ्य शिविर निःशुल्क सञ्चालन गरिनेछ ।
– नगरभित्र भएका जडीबुटीको उत्पादन, प्रशोधन र सदुपयोग गरिनेछ ।
– सर्वसुलभ स्वास्थ्य सेवा सञ्चालन गरिनेछ ।
–हरेक स्वास्थ्य चौकीमा एक डाक्टर र एक ल्याव रहने गरी पहल गरिनेछ ।
– धुम्रपान र मदिरापानलाई पूर्ण निरुत्साहित गरिनेछ ।
– नगरमा कृयाशिल सञ्चारकर्मी र संस्कृतिकर्मीहरुलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ ।
– नेपाल सरकारको नीति अनुसार सञ्चारकर्मीहरुलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ ।

भाषा, कला र संस्कृति

– नगरपालिकामा एउटा नगरपालिका प्रज्ञाप्रतिष्ठान निर्माण गरी नगरपालिका भरीका भाषा, साहित्य, इतिहास, कला, दर्शन, लोक गीत, संगीतलगायतको अध्ययन, अनुसन्धान र प्रकाशनमा जोड दिइनेछ ।
– रामेछाप र साँघुटारजस्ता ऐतिहासिक पुराना ठाँउहरुलगायत नगरका सबै वडाहरुमा नमुना वस्ती र कम्युन अभ्यासको सम्भाव्यताको खोजी र विकास गर्न पहल थालिनेछ ।

सडक

– नगर केन्द्रबाट हरेक वडाकार्यालयसम्म पुग्ने सडकलाई पहिलो चरण र बाँकी सडकहरुलाई दोस्रो चरणमा कालोपत्रे गरिनेछ ।
– रामेछाप–च्यास्कु–कोलान्जोर घाटको बाटो कालोपत्रे गरिनेछ ।
– रामेछाप– च्यास्कु – बोलङ बोलङ सडक कालोपत्रे गरिनेछ ।
– रामेछाप–ओख्रेनी–कुशबसेरी सडक कालोपत्रे गरिनेछ ।
– देउराली–गोठगाउँ–लोर्खुखोला सडक कालोपत्रे गरिनेछ ।
–मानेडाँडा–टाहार– हर्देनी सडक कालोपत्रे गरिनेछ ।
– रामेछाप– मुडाजोर– विर्ता– धनेघाट– हायुटोललाई कालोपत्रे गरिनेछ ।
– पालेवन– सिम्ले सडक कालोपत्रे गरिनेछ ।
– साँघुटार– थाक्ले– लक्ष्मीबास– बाँकीमैरीको चक्रपथलाई कालोपत्रे गरिनेछ र साँघुटारलाई ऐतिहासिक, पर्यटकीय र नमुना सहरका रुपमा विकास गरिनेछ ।
– लिखु करिडोरलाई शिघ्र व्यवस्थापन र सम्पन्न गर्न पहल गरिनेछ ।

खानेपानी
– खानेपानीको विद्युत् महसुल निःशुल्क बनाइनेछ ।
– हरेक घरमा ‘एक घर एक धारा’को नीतिलाई अनिवार्य लागु गरिनेछ ।

खेलकुद

– हरेक वडाहरुमा चिल्डेन पार्क, खेलमैदान र खेलसामग्रीको व्यवस्थाका साथै बालक्लब, युवाक्लबको गठन गरिनेछ ।
– हरेक वडामा कम्तीमा तीनवटा भलिबल मैदान र खेल सामग्रीका साथै आवश्यक अन्य खेलमैदानको व्यवस्थाका साथै खेलकुद विकास कार्यक्रम संचालन गरिनेछ ।
– खेलकुद क्षेत्रको विकासका लागि नगरस्तरीय कभर्डहल निर्माण गरिनेछ ।

उद्योग

– जुनार खेतीलाई प्रवर्धन गरी जुस कारखाना खोलिनेछ ।
– दुधको उत्पादन बढाउन कृषि अनुदानको व्यवस्था गरी दुध डेरी सञ्चालनका साथै किसानलाई नगद आम्दानीतर्फ उन्मुख गराइनेछ ।
– हरेक वडाहरुमा युवाहरुलाई मोटरसाइकल तथा गाडीहरुको डाइभिङ, आधुनिक घरायसी फलामजन्य औजारहरु, काष्ठकला, मुर्तिकला, माटाका भाँडाकुडा, सिलाइकटाइ लगायतका आवश्यक तालिमहरु प्रदान गरी आत्मनिर्भर बनाइनेछ ।
– सहकारी संस्थाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र वैदेशिक रोजगारबाट फर्केका दाजुभाइ, दिदीबहिनीहरुका प्राप्त ज्ञान, सीप र अनुभवलाई स्थानीय उत्पादनमा सदुपयोग गर्दै श्रम जनसहकारी गठन गरी प्रत्येक व्यक्तिलाई उत्पादनमूलक क्षेत्रमा सेयर हाल्न प्रोत्साहन गरी जनतालाई मालिक बनाइनेछ ।
– युवा उद्यम विकास कार्यक्रम संचालन गरिनेछ ।

कृषि र सिञ्चाइ

– एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ ।
– कृषि व्यवसायीकरणको ठोस योजना बनाई लागु गरि जग्गाजमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्दै कृषि पेसामा आकर्षण ल्याउन कृषक अनुदान र कृषक पेन्सन कार्यक्रम संचालनका साथै उचित बजारीकरण गरिनेछ ।
– हरेक वडाहरुमा शित भण्डारको स्थापना, सञ्चालन र व्यवस्थापन गरिनेछ ।
– माटो परीक्षण, ठाउँअनुसार लगाउन मिल्ने वोटविरुवा वितरण, आधुनिक कृषि औजार वितरण, मलखाद व्यवस्थापन गरी अर्गानिक खेतीलाई प्रोत्साहन गरिनेछ ।
– कृषि तथा पशु बीमा कार्यक्रम संचालन गरिनेछ ।
– नहरसिंचाई योग्य जमिनहरुमा सिंचाई व्यवस्था र अन्य खेतीयोग्य जमिनमा लिफ्ट सिंचाई गरी कृषि औधौगिक ग्राम निर्माण गरिनेछ ।
– फलफूल र तरकारी पकेट क्षेत्र बनाई विशेष कार्यक्रम सञ्चालन गरिनुका साथै व्यवसायीका लागि प्राविधिक तालिम तथा प्रविधि हस्तान्तरण गरिनेछ ।
– सहकारी विकास, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण, बजारीकरण गरिनेछ ।
– कृषिउपज र पशुपालनमा बिमामार्फत कृषकको जोखिम घटाउन र कृषिलाई निर्वाहमुखी खेतीबाट व्यवसायिक खेतिमार्फत सम्मानित पेशा बनाइनेछ ।
– हरेक वडामा कृषि साझेदारी कार्यक्रम संचालन गरिनेछ ।

पशुपालन

–उन्नत किसिमका पशुपालन र विकासमा जोड दिइनेछ ।
– पशुहाट बजार, पशुवधशाला तथा चिस्यान घरको निर्माण, सञ्चालन र व्यवस्थापनका साथै तरकारी, दूध तथा माछामासुमा नगरपालिकालाई आत्मनिर्भर बनाइने छ ।
– पशुपंक्षीपालन तथा माछामासुको पकेट क्षेत्र बनाइनेछ ।
– पशुपालनमा आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गरिनेछ ।

खाद्य

– कालोबजारीलाई नियन्त्रण गरी बजार अनुगमनलाई प्रभावकारी र नियमित गरिनेछ ।
–नगर खाद्य बैंक स्थापनाका साथै नगरबासीलाई खाद्यमा आत्मनिर्भर बनाइनेछ ।
– स्थानीय कृषि उत्पादन बढाउन जोड दिई आवश्यक अनुदानको व्यवस्था गरिनेछ ।

आवास

– नगरपालिकाको सबै ठाउँमा भूकम्प प्रतिरोधी संरचनाको निर्माणमा जोड दिइनेछ ।
– आगलागिजन्य विपद व्यवस्थापनका लागि नगरपालिकामा दमकल (वारुणयन्त्र)को व्यवस्थापन गरिनेछ ।

सामाजिक न्याय र सुसासन

–सामाजिक न्यायसहितको सुशासन लागु गरिनेछ ।
– भ्रष्टाचार र ढिलासुस्ती हटाई शून्य सहनशीलता कायम गराई पारदर्शिता, चुस्त प्रविधियुक्त सूचना प्रवाह, मितव्ययी आर्थिक व्यवस्थापन, आवश्यक सीप र तालिम प्राप्त दक्ष र उच्च मनोबलको कर्मचारी प्रशासनमार्फत जनताको घरदैलोमा स्थानीय सरकार भन्ने परिकल्पनालाई साकार पारिनेछ ।
– लैङ्गिक समानता र महिला सशक्तिकरणका कार्यक्रमहरु संचालन गरिनुका साथै अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, हिंसा पीडित तथा एकल महिला तथा पुरुषहरुलाई विशेष सहायता गरिनेछ ।
– छुवाछुत र भेदभाव जस्ता कुरीतिका अवशेषहरुलाई अन्त्य गरिनेछ ।
– वृद्धभत्ता, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्तालगायतका सेवाहरु घरघरमै उपलब्ध गराइनेछ ।
–जनयुद्ध तथा परिवर्तनकारी आन्दोलनका सहिद तथा बेपत्ता परिवार, घाइते एवं पूर्व जनमुक्ति सेनाका परिवारलाई सार्वजनिक यातायात, घरजग्गा रजिष्ट्रेसन तथा स्थानीय करलगायतमा स्थानीय कानुन बनाई विशेष छुट तथा सहुलियतको व्यवस्था गरिनेछ ।
– जननिर्वाचित प्रतिनिधि तथा प्रशासकहरुलाई जनताको निगरानीमा रही जनसेवकको रुपमा आचरण विकास गरी मुस्कानसहितको सेवा प्रवाहमा जोड दिइनेछ ।
– जनताको साथी मेयर कार्यक्रम सञ्चालन गरिने तथा नागरिक बडापत्र अनिवार्य जारी गरी सूचनाको हकलाई प्रभावकारीरुपमा कार्यान्वयन हुने व्यवस्था मिलाइनेछ ।
– अघिल्लो कार्यकालका जनप्रतिनीधिले गरेका राम्रा कार्यको निरन्तरता दिइनेछ ।
– हराभरा रामेछाप नगरपालिका बनाइनेछ ।

सम्मानको संस्कार

– समाजमा बसेर उदाहरणीय र नमुनायोग्य कार्य गर्ने कर्मचारीहरु, युवा, विद्यार्थीहरुका साथै समाजसेवी, बुद्धिजीवी, लेखक, पत्रकार, नागरिक समाजलगायतको उचित उच्च सम्मान र पुरस्कारको व्यवस्था गरिनेछ ।
– बृद्धबृद्धालाई सम्मान, स्वास्थ्य तथा न्यूनतम आधारभूत आवश्यकताको परिपूर्ति गर्न नगरकोष स्थापना गरिनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध

– रामेछाप नगरपालिकालाई स्वदेश तथा विदेशका नगरहरुसंग भगीनी सम्बन्ध स्थापित गराउन पहल गरिनेछ ।
– गंगालाल र पुष्पलालको जन्मभुमि र योगदानलाई अन्तर्राष्ट्रियकरण गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय