हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किरातहरूको महान पर्व उधौली, लिम्बू समुदायको महान चाड चासोक तङनाम र नेवारहरूको महत्वपूर्ण पर्व यःमरि पुन्हिको अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शुभकामना व्यक्त गरेका छन् ।

किरात तथा लिम्बू मान्यताअनुसार मार्ग शुक्ल पूर्णिमाको दिनदेखि हिउँद जाडो शुरु हुन्छ । यसै दिनदेखि न्यानोको खोजीमा पशुपन्छी, विभिन्न जीवजन्तु लेकबाट बेसीतिर उँधो झर्ने गर्छन् । त्यसै भएकाले यस दिन मनाइने पर्व ९साकेला०लाई उधौली भनिएको हो ।

उधौली पर्व अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइन्छ । यस पर्वमा मूलतः प्रकृति, भूमि, पितृहरू आदिको पूजा गरिन्छ । यो पर्वमा मौलिक भेषभूषा लगाउने, ढोल, झ्याम्टा बजाएर साकेला ९चण्डी० गीत गाउने, नाच्ने गरिन्छ ।

नेवारहरूले मनाउने यःमरि पुन्हि पर्वका दिन चामलको पिठोभित्र चाकु, तिल, खुवा आदि राखेर विशेष प्रकारको रोटी बनाएर खाने गरिन्छ । यस्तो रोटीलाई नेवारी भाषामा ‘यःमरि’ भनिन्छ । यही यःमरि खाएर मनाइने पर्व भएकाले यःमरि पुन्हि भनिएको हो भन्ने भनाइ पनि छ । यःमरि पर्वका दिन अन्न भण्डारमा यःमरि, लक्ष्मी, गणेश, कुबेर आदिको प्रतीक÷प्रतिमा बनाई चढाउने पनि गरिन्छ । यसरी अन्नभण्डारमा चढाएको यःमरि चार दिनपछि निकालेर बाँडेर खाने गरिन्छ । यःमरि पुन्हिका दिन घरघरमा गएर यःमरि गीत गाउँदै यःमरि माग्ने चलन पनि छ ।

बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न जाति, भाषा, धर्म र समुदायले मनाउने चाडपर्व हाम्रा सम्पत्ति भएकाले सबैले संरक्षण र सम्वद्धन गर्नु पर्ने मुख्यमन्त्री राईले बताएका छन्। विहीबार शुभकामना सन्देश जारी गरि मुख्यमन्त्री राईले भन्नु भएको छ–‘विविधताबीचको एकता हाम्रो सौन्दर्य र हाम्रो शक्ति पनि हो । त्यसैले एक अर्काको भाषा, धर्म, संस्कृति, पर्व आदिलाई सम्मान र स्वीकार गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नु सबै नेपालीको कर्तव्य र दायित्व हो ।’ हामीले मनाउने पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामनासमेत उनले गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय