बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । अब उनी संघीय सरकारमा जाने बाटो खुला भएको हो । पाण्डे धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट एमालेका भूमि त्रिपाठीलाई पराजित गर्दै विजयी बनेका हुन् ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पाण्डेले निर्वाचित प्रमाणपत्रसमेत बुझिसकेका छन् । हातमा संघीय सांसदमा निर्वाचित भएपछिको प्रमाण पत्र थामिसकेका पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीको भूमिका पनि निर्वाह गरिरहेका छन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा निर्वाचित भएपछि प्रदेश सांसदको हकले पाएको मुख्यमन्त्रीको पद संघीय सांसद भएपछि मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने हुन्छ । तर पाण्डेले हालसम्म पनि राजीनामा नदिएको मुख्यमन्त्री कार्यालय बागमती प्रदेशले जनाएको छ ।

अघिल्लो निर्वाचनमा धादिङबाट प्रदेश सभा सदस्यमा विजयी भएका पाण्डे एमाले विभाजन भई गठन भएको एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्रीमै रहेका बेला उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिई विजयीसमेत भइसकेका छन्

। तर, पाण्डेले प्रतिनिधिसभा सदस्य भए पनि मुख्यमन्त्री पदबाट राजीनामा दिन आवश्यक नरहेको मुख्यमन्त्री पाण्डेका सरकारी प्रेस सल्लाहकार अच्युत लामिछानेले बताए । मुख्यमन्त्री पाण्डेले भने प्रदेशलाई सरकार विहीन बनाउन नहुने कारणले नै आफूले मुख्यमन्त्री पदबाट राजीनामा नदिएको बताए । मुख्यमन्त्रीको ‘कुर्सी’ कहिले छोड्ने रु, भन्ने प्रश्नको जवाफमा उनले भने, ‘संघमा निर्वाचित हुने बित्तिकै मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने कतै उल्लेख त छैन । तर स्वविवेकले राजीनामा दिँदा फरक त पर्दैन । तर सरकार खाली नराख्न अर्को मुख्यमन्त्री आउनुभएपछि उहाँलाई सरकार सुम्पिएर बिदा लिने छु ।’

 

त्यसो त निर्वाचन आयोगको कानुनमा समेत यसबारे प्रष्ट उल्लेख छैन । यदि उनी प्रदेश सभा सदस्यमा विजयी भएको भए मुख्यमन्त्री पदमै बहालवाला मुख्यमन्त्री रहन्थे । तर, अहिले प्रतिनिधिसभामा निर्वाचित हुँदा पनि उनी मुख्यमन्त्रीकै हैसियतमा क्रियाशील छन् । संघीय सांसद भइसकेको व्यक्ति मुख्यमन्त्रीको कुर्सीमा बस्न नमिल्ने भन्दै उनलाई राजीनामा दिन दबाब बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय