
काठमाडौ ,
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबले पहिलो जित हासिल गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा थ्री स्टारले एफसी खुमलटारलाई २–० ले पराजित गर्यो।
थ्री स्टारको जितमा अजयी मार्टिन्स एक्लैले दुई गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा थ्री स्टारले अग्रता लिएको थियो। ५४ औँ मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ८३ औँ मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को अवस्थामा पुर्याउँदै टिमको जित निश्चित गरेका थिए। त्यसपछि दुबै तर्फबाट थप गोल हुन नसक्दा थ्री स्टारले लिगमा पहिलो जित आत्मासाथ गर्यो। जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ।
नवप्रवेशी क्लब खुमलटारको भने यो दोस्रो हार हो। यसअघि लिगको पहिलो खेलमा भने खुमलटारले जित निकाल्दै लिगमा विजयी सुरुवात गरेको थियो। तर लय कायम राख्न नसक्दा पछिल्ला दुई खेलमा लगातार हार भोगेको हो।