सन्दिप थापा
ललितपुर । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले परिवारको अनावश्यक दवाव,गलत साथीहरूको संगतले लागू ओैषधमा फस्नेहरुको संख्या बढेको वताएका छन् । लागुओैषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दै प्रतिनिधिसभा सदस्य महर्जनले लागू पदार्थ सेवनलाई निरुत्साहित गर्न जनचेतना जगाउनु पर्ने वताएका हुन् । ‘एक लाख तीस हजार चार सय २४ सक्रिय लागू ओैषध प्रयोगकर्ता अहिले पनि भएको तथ्यांक छ । जसमध्ये ८ हजार ७ सय ३२ महिला छन् । यसले धेरैको परिवारमा विच्छेद भएको घटना निम्त्याएको छ। यसलाई नियन्त्रण गर्न हामी सबै नियमित ढंगले लाग्नु आवश्यक छ।’ महर्जनले भने ।

पूर्वस्वास्थ्य राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य डाक्टर तोसिमा कार्कीले लागू पदार्थको प्रयोग र यसको दुरुपयोग तथा अवैध ओसारपसारमा लाग्नेहरु किन लागे भनेर कारण खोज्नु पर्ने वताइन् । ‘कुलतमा फसेकाहरुलाई अमानवीय ढंगले यातना दिएर कसैलाई सुधार गर्न सकिदैन । कुलतमा किन फसे भनेर कारण खोज्नु पर्छ । साथी संगतको कारणले धेरै फसेका छन् । बेरोजगार पनि महत्त्वपूर्ण कारक तत्व हो ।’ डा. कार्कीले भनिन् । उनले सुधार गृहलाई स्वास्थ्य मन्त्रालय माताहत राख्नुपर्ने, कुलतमा फसेकालाई अपराधी जस्तो व्यहार नभई मायाममता दिनुपर्नेमा जोड दिइन् । उनले अब बन्ने स्वास्थ्य नीतिमा यस बिषयलाई सम्बोधन गर्न प्रयत्न गर्ने वताइन् ।

प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले लागू पदार्थ दुर्वयसन र लागुओैषध दुरुपयोग तथा अवैध ओसारपसार व्यक्तिको मात्रै हैन, परिवार र समाजको पनि समस्या भएको वताए । उनले यसकालागि जनचेतनाको धेरै काम गर्न बाँकी रहेको र वर्तमानमा कानूनी समस्या बढी भएको ओैल्याए । उनले १ लाख ३० हजार सक्रिय लागुओैषध प्रयोगकर्ताका कारण ४ लाख परिवार र १५ लाख व्यक्ति प्रभावित प्रत्यक्ष प्रभावित भएको वताउँदै यसलाई रोक्न परामर्श महत्त्वपूर्ण भएकोमा जोड दिए ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले लागू पदार्थ प्रयोगकर्ताहरुलाई यसबाट मुक्त गर्ने गरि संसदमा बजेट तय गर्नेगरी छलफल नभएकोमा दुस्ख व्यक्त गरे । ुविश्व स्वास्थ्य संगठन लागू पदार्थ सेवन रोग हो भनेको छ । हामीले यसलाई आपराधमा रुपान्तरण गरिरहेका छौं । समस्या यसैमा छ। ओसारपसार अपराध हो, तर सेवनकर्ता त रोगले पीडित हो नि !’ पूर्वमन्त्री तामाङले भने । उनले पुनर्स्थापना केन्द्र स्वास्थ्य मन्त्रालय माताहात हुनुपर्ने, गाँजालाई अरुसंग दाँजेर लागुओैषध वनाइएकोले यसो गर्न नहुनेमा जोड दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नीति निर्माता र कार्यान्वयनकर्ता, समाज, प्रहरी सबैले मिलेर अगाडि बढे लागुओैषध दुरुपयोग तथा अवैध ओसारपसार रोक्न र कुलतमा फस्न नदिने काम गर्न सकिने वताए ।

नेकपा एमालेका प्रदेश कमिटी सदस्य सरोज सिह डंगोलले भेदभाव रहीत तरिकाले परामर्श तथा उपचार गरेर कुलतमा लागेकाहरुलाई नियन्त्रण गर्न सकिने वताए ।

ललितपुरका प्रहरी प्रमुख सिद्धिविक्रम सिंहले आफू फस्ने र आफू फसेर साथीलाई पनि फसाउने व्यवहार लागू ओैषध प्रयोगकर्तामा हुने वताउँदै नेपाल प्रहरीले चालू आवमा देशभर ७०० वटा लागू ओैषध विरुद्ध समाज र विद्यालयमा कार्यक्रम गरेको जानकारी गराए ।
हरेक वर्ष जुन २६ लाई लागुओैषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । कलंक भेदभावको वलियो रोकथामका लागि मानिस पहिलो भन्ने नारा सहित यस वर्ष यो दिवस मनाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय