
नेपालको सडक पूर्वाधार विकासको महत्त्वपूर्ण योजनामध्ये एक मध्य पहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), जसको लक्ष्य २४ पहाडी जिल्ला र २१५ गाउँलाई जोड्नु हो, यतिबेला धेरै स्थानमा यात्रुका लागि डर र त्रासको पर्याय बन्दै गएको छ। पूर्वी नेपालको पाँचथरस्थित चियो भञ्ज्याङबाट सुरु भई पश्चिमको बैतडीस्थित झुलाघाटसम्म १,७७६ किलोमिटर लम्बिएको यो मार्गले ग्रामीण पहाडी भेगमा पहुँच विस्तार, स्थानीय अर्थतन्त्र सुदृढीकरण र जनसङ्ख्या स्थलान्तरण न्यूनीकरणको ठूलो उद्देश्य बोकेको छ। तर, हालको अवस्था हेर्दा यसको सपना यात्रुका लागि जोखिमपूर्ण यात्रा र अप्ठ्यारो जीवनसँग जोडिएको देखिन्छ।
पोखराबाट रुकुमकोटसम्मको कठिन यात्रा
लुम्बिनी प्रदेशअन्तर्गत रुकुमकोटसम्मको यात्रामा विशेष गरी बागलुङको बिहुँकोट क्षेत्रमा सडकको अवस्था वर्षायाममा अत्यन्त बिग्रन्छ। लगातारको वर्षा, हिलोको बाक्लोपन, सडक छेउछाउमा खसेका ढुंगाहरू, र पहिरोका कारण यातायात बारम्बार अवरुद्ध हुन्छ। यही सडकबाट यात्रा गर्ने चालक विक्रम मगरले भने, “हामी चालकहरूको लागि यो सडकमा हिँड्नु भनेको ज्यानको जोखीम मोल्नु हो। विशेष गरी रातमा, हिलो र फगका कारण सडक देखिँदैन, अनि कहिले ढुंगा खस्छ थाहा हुँदैन।”
लुकुम प्रवेशको त्रासदीपूर्ण मोडहरू
गण्डकी प्रदेशको सीमाना पार गरी लुम्बिनी प्रदेशको लुकुम क्षेत्रमा प्रवेश गरेपछि अवस्था झन् चुनौतीपूर्ण हुन्छ। यहाँको उच्च पहाडी भूभाग र वर्षायामको घना हुस्सु (फग)का कारण दृश्यता न्यून हुन्छ। वर्षातमा चिप्लो सडकमा साना भ्यानदेखि ठूलो बससम्मका सवारीहरू बारम्बार फस्छन्। पहिरोको कारण एक्कासी ढुंगा खस्ने, सडक साँघुरो हुने र पाङ्ग्रा चिप्लिने घटना सामान्यझैँ भएका छन्।
रातको यात्रामा लामो अनुभव भएका बस चालक राजु थापा भन्छन्, “रातमा यहाँ गाडी चलाउँदा साँचै डर लाग्छ। कति पटक त हामी गाडी रोकेर हुस्सु पातालो हुने पर्खेर मात्रै अघि बढेका छौं। कहिलेकाहीँ यात्रुहरूले पनि पानी र चिया पिउँदा ‘अब त केही हुन्छ कि’ भन्ने डर मान्छन्।”
यात्रुको त्रास र सरकारी बेवास्ता
बस र भ्यानमा यात्रा गर्ने यात्रुहरू पनि यो सडकको अवस्था देखेर त्रासमा पर्छन्। बागलुङदेखि लुकुमसम्मको खतरनाक मोड, साँघुरा घुम्ती र हिलोमा चिप्लिने जोखिमले उनीहरूलाई नत मानसिक रूपमा सहज हुन दिन्छ, नत शारीरिक रूपमा। “कहिले ढुंगा खस्छ, कहिले गाडी हिलोमा अड्किन्छ, अनि कहिले हुस्सुले केही देखिँदैन — यस्तोमा हामीले यात्रा गर्दा सधैं डर खेपिराख्नुपर्छ,” पोखराबाट रुकुमकोटतर्फ जाँदै गरेका एक यात्रुले बताए।
तर, सडक विभाग र सम्बन्धित निकाय भने यस अवस्थामा पर्याप्त गम्भीर देखिँदैनन्। स्थानीयवासी र यात्रुहरूले पटक–पटक समस्या उजागर गरे पनि तत्कालीन मर्मत, पहिरो हटाउने र सडक सुरक्षामा कुनै उल्लेखनीय सुधार देखिएको छैन।
विकासको सपना, सुरक्षा बेवास्ता
मध्य पहाडी लोकमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजना मान्दै आएको छ। यसमार्फत आर्थिक गतिविधि विस्तार, पर्यटन प्रवर्द्धन, स्थानीय बजारमा पहुँच, र स्वास्थ्य–शिक्षा सेवामा सुधार ल्याउने योजना छ। तर, आधारभूत सुरक्षा र नियमित मर्मतबिना यस्तो सपना केवल कागजमा सीमित हुने खतरा बढेको छ।
स्थानीय बासिन्दा, चालक र यात्रुहरू एक स्वरमा भन्छन् — “यो मार्गमा यात्रा गर्नु भनेको ज्यानलाई खेलौना बनाउनु जस्तै हो। सरकारले गम्भीर भएर तत्काल सडक सुधार र सुरक्षा उपायमा लगानी नगरेसम्म, यो राजमार्ग ‘विकासको राजमार्ग’ नभई ‘जोखिमको राजमार्ग’ बन्नेछ।”
रिपोर्ट: विशु गुरुङ
सदस्य, नेपाल पत्रकार महासंघ ललितपुर


Photo – Vishu Gurung












